अमेरिकामा पानी जहाजमा नेपाली गार्डमाथि कैची प्रहार, आक्रमणकारीविरुद्ध अभियोग दर्ता


प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार

अमेरिकाको शियाटलबाट अलास्का जाँदै गरेको पानी जहाजमा नेपाली गार्ड सहितलाई कैची प्रहार गरेको अभियोगमा एक दक्षिण अफ्रिकी व्यक्तिलाई एफबीआईले नियन्त्रण लिएर औपचारिक अभियोग लगाइएको छ । अलास्काको एक संघीय ग्रयाण्ड जूरीले ती व्यक्तिलाई पानीजहाजमा सवार हुँदा नेपालीसहित तीन व्यक्तिमाथि मेडिकल कैंचीले आक्रमण गरेको अभियोग लगाएको छ ।

अदालतका कागजातहरूका गत मे ६ मा ३५ बर्षीय एनटांडो सोगोनीले जहाजमा लाइफबोट परिचालन गर्न खोजेको जनाइएको छ । लाइफबोट तैनाथ गर्नु एक गम्भीर अवस्था हो र केवल आपतकालीन अवस्थामा गरिनु पर्छ। त्यसैले ती व्यक्तिलाई मूल्याङ्कनका लागि जहाजको मेडिकल क्षेत्रमा लगिएको थियो ।

मूल्याङ्कनको क्रममा एनटांडो सोगोनी नर्स र सुरक्षा गार्डसँग प्रतिवाद गर्न थालेको र अर्को कोठामा भागेको जनाईएको छ । सोही क्रममा जहाजमा यात्रा गरिरहेकी ७५ बर्षकी एक अमेरिकी नागरिक महिलालाई छाती, हात र टाउकोमा धेरै चोटि मेडिकल कैंचीले प्रहार गरी गम्भीर शारीरिक चोट पुर्‍याएको अदालती कागजातमा जनाइएको छ ।

त्यसपछि दुई सुरक्षा गार्डलाई आक्रमण गरेको जनाइएको छ । जसमा एकजना फिलिपिनी नागरिकको टाउकोमा र अर्का नेपाली नागरिकको मेरुदण्डमा छुरा प्रहार गरेको अभियोग लगाइएको छ ।

त्यसपछि आक्रमणकारीलाई मे ७ मा जुनाउ आइपुग्दासम्म जहाजको जेलमा हिरासतमा राखिएको थियो । त्यसपछि आक्रमणकारीलाई एफबीआईद्वारा पक्राउ गरिएको थियो।आक्रमणको समयमा जहाज उच्च समुद्रमा र अमेरिकाको विशेष सामुद्रिक र क्षेत्रीय क्षेत्राधिकार भित्र थियो ।

आक्रमणकारी एकदिन अगाडि अमेरिकाको शियाटलबाट उक्त क्रुजशिपमा चढेको जनाइएको छ । उक्त नर्वेजियन इन्कोर क्रुजशिप अलास्कामा तीन स्टपपछि क्यानडाको ब्रिटिश कोलम्बियामा रोकिएर मे १२ मा शियाटल आउने तय भएको थियो ।

सोगोनीलाई हत्या गर्ने आशय, खतरनाक हतियारको साथ आक्रमण, गम्भीर शारीरिक चोट लाग्ने आक्रमणहरू लगायत ७ वटा अभियोगहरु लगाइएको छ । उनलाई मे ९ मा सुरुमा अलास्काको अदालतमा पेश गरिएको थियो । यदि दोषी ठहरिएमा अधिकतम ३० बर्ष जेल सजाय र साढे २ लाख डलर जरिवाना समेत हुनसक्नेछ ।

तस्वीर: नर्वेजियन इन्कारको फाइल तस्वीर ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com