डुङ्गा चढेर १० हजार आप्रवासी बेलायत पुगे , पुरा होला त सुनकको वाचा ?


प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार

सन् २०२४ मा १० हजारभन्दा बढी अनियमित आप्रवासीहरू साना डुङ्गामार्फत समुद्र पार गरेर बेलायत पुगेका बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ ।

कन्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री ऋषि सुनकले संसदीय निर्वाचनको क्रममा सीमामा अवैध बाटोबाट आवतजावत रोक्ने वाचा गर्नुभएको थियो ।

सरकारी अधिकारीका अनुसार २८८ जना आप्रवासी शरणार्थीहरूले पाँचवटा डुङ्गामा अवैध बाटोबाट बेलायत छिरेका थिए ।

बेलायत आन्तरिक मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ सम्म समुद्री बाटो भएर अवैधरूपमा बेलायतको विभिन्न भूभागमा प्रवेश गर्ने व्यक्तिको सङ्ख्या १० हजार १७० पुगेको छ ।

यो सङ्ख्या गत वर्षको यही अवधिमा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा ३५ प्रतिशतले बढी हो । सन् २०२४ को पहिलो पाँच महिनामा समुद्री मार्गबाट बेलायत आउने कागजविहीन आप्रवासीको सङ्ख्या यसअघिको तुलनामा उच्च रहेको थियो । सुनकले जुलाई ४ को लागि आम निर्वाचनको आह्वान गर्नुभएको छ ।

आप्रवासी समस्या यो निर्वाचन अघि नै ठूलो मुद्दाको रूपमा देखिएको छ । मुख्य विपक्षी लेबर पार्टीले हजारौं शरणार्थीहरूलाई जबरजस्ती रुवान्डामा निर्वासित गर्ने उहाँको प्रमुख योजना मतदानको दिन अघि सुरु नहुने र यो विवादास्पद योजना खारेज गर्ने प्रतिवद्धता गरेको छ ।

लेबरले आप्रवासीको स्तर धेरै उच्च रहेको बताउँदै सानो डुङ्गामा अवैध बाटोबाट यात्रा गरी लाभ उठाउने तस्कर तथा अन्य गिरोहहरूमाथि कारबाही गर्ने बताएको छ ।
शनिबार जारी गरिएको ‘युगोभ पोल’ले केयर स्टार्मरको नेतृत्वमा रहेको टोरी समूहमा २२ अङ्कको अग्रता दिएको छ । युगोभ एक विश्वव्यापी जनमत सर्भेक्षण र तथ्याङ्क विश्लेषण गर्ने ख्यातिप्राप्त कम्पनी हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com