न्युयोर्क सिटीका समुद्र तटहरू शनिबारदेखि खुला, कहाँ कहाँ जान सकिन्छ?


प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार

people standing near brown house

समर प्राविधिक रुपमा जुन २० बाट सुरु हुने भएतापनि न्युयोर्क सिटीका समुद्र तटहरू भने  मे २५ शनिबारदेखि खुला भएका छन् । एनवाईसी पार्कसले शनिबारदेखि १४ माइल लामो समुद्र तट आधिकारिक रूपमा पुन खोलेको छ ।

मेमोरियल डे सप्ताहन्तको अवशरमा ब्रुकलिनको कोने आइल्याण्ड र ब्राइटन बीच, स्टेटन आइल्याण्डको सेडर ग्रोभ बीच, र ब्रोन्क्सको अर्चर्ड बीच लगायत खुला भएका छन् ।

न्युयोर्क सिटीमा घुम्नका लागि उत्कृष्ट समुद्र तटहरू रहेका छन् । जेकब रिस बीच लैंगीक मैत्री रहेको छ भने रकवेजको फोर्ट टिल्डेन बीच र लङ आइल्याण्डको जोन्स बीच केही सेतो बालुवाहरूका साथ चर्चित छन् । म्यानहटन बीच, स्टेटन आइल्याण्डका मिडल्याण्ड बीच, साउथ बीच, पोण्ड बीच पनि तपाईका रोजाई बन्न सक्छन् ।

Photo by Malaya Sadler on Unsplash

अमेरिकाभर रहेका २५ वटा उत्कृष्ट समुद्र तटहरूमध्ये २ वटा न्युयोर्क सिटीमा छन् । जसमध्ये एउटा रकवे बीच हो भने अर्को कोने आइल्याण्ड बीच हो । न्युयोर्कको रकवे बीचमा सबवे वा बसमा चढेर पुग्न सकिन्छ भने सेतो बालुवा, पाँच माइल बोर्डवाक र सर्फयोग्य छालहरूको आनन्द लिन सकिन्छ । रकवे बीचमा स्केट पार्क, भलिबल र ह्यान्डबल कोर्टहरू, खेल मैदानहरू, स्प्रे शावरहरू र विश्राम कक्षहरू पनि छन्। पिकनिकका लागि बार्बेक्यु क्षेत्रहरू र बोर्डवाकमा भोजनालयहरू छन् ।

यदि तपाईं धेरै टाढा नगईकन सिटीको हलचलबाट उम्कन खोज्दै हुनुहुन्छ भने कोने आइल्याण्ड बीच उपयुक्त क्षेत्र हुनसक्छ । यो सार्वजनिक समुद्र तट इतिहास र परम्परामा धनी छ। त्यहाँ भलिबल, ह्यान्डबल, र बास्केटबलका लागि कोर्टहरू साथै खेल मैदानहरू छन् जुन तपाईंलाई दिनभर मनोरञ्जन प्रदान गर्दछ। तपाईले धेरैजसो समय बोर्डवाकमा बिताउन सक्नुहुनेछ ।

लाइफगार्डहरूको अभावको कारण समुद्र तटहरू खुल्ने घण्टा भने केही कम हुनसक्छ । यो सिजनमा २३० लाइफगार्डहरू राखिएको छ जबकी समुद्र तटहरू सञ्चालन गर्न १ हजार आवश्यक पर्छ ।

समुद्र तटहरू सेप्टेम्बर ८ सम्म खुला रहने छन्। समुद्र तटको मौसममा लाइफगार्डहरू दैनिक रूपमा बिहान १० बजेदेखि ६ बजेसम्म ड्युटीमा हुन्छन्। लाइफगार्डहरू ड्युटीमा नभएको र बन्द खण्डहरूमा पौडी खेल्न निषेध गरिएको छ। बन्द खण्डहरूमा रातो झण्डाहरूसँग चिन्ह लगाइएका हुन्छन् । न्युयोर्क सिटीका सबै समुद्र तटहरू निशुल्क र जनताको लागि खुला छन्।

न्युयोर्क सिटीका सबै आठ समुद्र तटहरूमा अवस्थित ५८ डिस्पेन्सरबाट निःशुल्क सनस्क्रिन लगाउन सकिन्छ । ब्रोन्क्स, ब्रुकलिन, र म्यानहट्टनमा इम्प्याक्ट मेलानोमा फाउन्डेसन र रकवेजमा एपिस्कोपल हेल्थ सर्भिसेसको आर्थिक सहयोगमा सनस्क्रिन उपलब्ध छन् । न्यु योर्कवासीहरूले उपलब्ध गराइएको एसपीएफ ३० सनस्क्रिन सजिलैसँग लगाएर घाममा आफूलाई बचाउन सक्छन्।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com