बङ्गलादेशका सांसदको भारतमा हत्या , हत्या आरोपमा ३ बङ्गलादेशी पक्राउ
प्रकाशित मिति : जेष्ठ ९, २०८१ बुधबार
बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिम बुधबार कोलकातामा मृत फेला पर्नुभएको छ ।
उहाँ गत शनिबारदेखि बेपत्ता हुनुहुन्थ्यो । बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले ढाकामा पत्रकार सम्मेलनमा सांसद अजिमको कोलकातामा हत्या भएको बताउनुभयो ।
बङ्गलादेश समाचारपत्र डेली स्टारका अनुसार बुधबार आफ्नो निवासमा पत्रकाहरूसँग मन्त्री खानले यस सिलसिलामा बङ्गलादेश प्रहरीले तीन जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।
बेपत्ता सांसद अजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्याह्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको विधाननगरस्थित एक घरमा अन्तिम पटक देखिनुभएको थियो ।
कोलकाताको बिधाननगरमा रहेको पारिवारिक मित्रका अनुसार अजिमले दिल्ली जाने बताउनुभएको थियो । तर मे १३ देखि हालसम्म उहाँसँग सम्पर्क भएको छैन । ढाकामा उहाँको परिवार तथा विधाननगरमा मित्रसँग मोबाइल सन्देशहरू मात्र आदानप्रदान भएको छ । सन्देशहरूले उहाँको दिल्ली जाने उद्देश्य रहेको सङ्केत गरेका छन् ।
सञ्चारको अभाव र अचानक कथितरूपमा बेपत्ता भएकाले चिन्तित सांसदकी छोरीले आफ्नो बुबासँग सम्पर्क गर्न नसक्ने जानकारी पाएका सांसदका पारिवारिक मित्र गोपाल विश्वासले कोलकातास्थित विधाननगरको बारानगर प्रहरी चौकीमा बेपत्ता भएको उजुरी दिएका थिए ।






