मेक्सिकन दूतावासमा इक्वेडरको प्रहरीबाट छापा, मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध


प्रकाशित मिति : चैत्र २४, २०८० शनिबार

green white and red flag

दूतावासमा छापा मारेपछि मेक्सिकोले इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोडेको छ । भ्रष्टाचारको आरोप लागेपछि मेक्सिकन दूतावासमा राजनीतिक शरण लिइरहेका इक्वेडरका पूर्व उपराष्ट्रपतिलाई पक्राउ गर्न इक्वेडरको प्रहरी मेक्सिकन दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका राष्ट्रपतिले तुरुन्तै इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्न अघि बढेका हुन् ।

इक्वेडरको प्रहरीले राजधानी क्विटोमा रहेको दूतावासमा गएर डिसेम्बरदेखि त्यहाँ बस्दै आएका जर्ज ग्लासलाई पक्राउ गरेपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले शुक्रबार साँझ कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन् । ग्लास इक्वेडरमा मोस्ट वान्टेड व्यक्तिका रुपमा रहेका थिए भने घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहरिएका थिए । इक्वेडरका अधिकारीहरूले उनी विरुद्ध थप आरोपहरूको अनुसन्धान गरिरहेका छन्।

प्रहरीले इक्वेडरको राजधानीमा रहेको मेक्सिकन कूटनीतिक मुख्यालयको बाहिरी ढोका तोडेर ग्लासलाई पक्राउ गर्न मुख्य आँगनमा प्रवेश गरेको थियो। यो सम्भव नभएको र हुनै नसक्ने घटना तथा पागलपन रहेको क्विटोमा मेक्सिकन कन्सुलर खण्डका प्रमुख रोबर्टो क्यान्सेकोले दूतावास बाहिर उभिएर स्थानीय प्रेसलाई बताएका थिए । उनले आफू धेरै चिन्तित भएको र ग्लासलाई उनीहरुले मार्न सक्ने बताए । दूतावासमा नै आएर पक्राउ गर्ने गर्ने कुनै आधार नभएको र यो पूर्णतया मानक बाहिर रहेको उनले बताए ।

इक्वेडरको राष्ट्रपतिले एक विज्ञप्तिमा आफ्नो निर्णयको बचाउ गरेका छन् । इक्वेडर एक सार्वभौम राष्ट्र भएको कुनै पनि अपराधीलाई स्वतन्त्र रहन नदिने उनले बताएका छन् । लोपेज ओब्राडोरले ग्लासको हिरासतलाई तानाशाही कार्य र अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भन्दै जवाफ फर्काएका छन् । मेक्सिकोको विदेश सम्बन्ध सेक्रेटरी एलिसिया बार्सेनाले सामाजिक सञ्जालमा पोस्ट गर्दै ब्रेकइनको क्रममा धेरै कूटनीतिज्ञहरू घाइते भएको र यसले कूटनीतिक सम्बन्धमा भियना कन्भेन्सनमा उल्लङ्घन गरेको बताइन् ।

भियना कन्भेन्सन अन्तर्गत कूटनीतिक परिसरहरू उल्लघंन नगर्न नमिल्नेस्थल मानिन्छ । त्यहाँ राजदूतको अनुमति बिना स्थानीय सुरक्षा निकायलाई प्रवेश गर्न अनुमति छैन विकिलिक्सका संस्थापक जुलियन असान्ज लण्डनस्थित इक्वेडरको दूतावासभित्र सात वर्षसम्म बस्दा यही कन्भेन्सनको पालना गरेर बेलायती प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

मेक्सिकोले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको लागि इक्वेडरको जिम्मेवारीलाई निन्दा गर्न अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजाने बताएको छ । क्विटोमा रहेको मेक्सिकन दूतावास शुक्रबार ढिलोसम्म प्रहरीको सुरक्षामा रहेको थियो । एक दिन अघि मेक्सिकोका राष्ट्रपतिले इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले जितेको गत वर्षको चुनाव दुर्भाग्यपूर्ण बताएपछि दुई देशबीचको तनाव बढेको थियो । प्रतिक्रियामा इक्वेडर सरकारले मेक्सिकन राजदूतलाई पर्सना नन ग्राटा घोषित गरेको थियो ।

कूटनीतिमा पर्सना नन ग्राटा विदेशी कूटनीतिज्ञ हो जसलाई होस्ट देशले उसको देशमा फिर्ता बोलाउन आग्रह गर्दछ। यदि अनुरोध गरे बमोजिम व्यक्तिलाई फिर्ता नबोलाएमा आयोजक राष्ट्रले सम्बन्धित व्यक्तिलाई कूटनीतिक नियोगको सदस्यको रूपमा मान्यता दिन अस्वीकार गर्न सक्छ। होस्ट देशले कुनै पनि स्पष्टीकरण बिना कुनै पनि समयमा कूटनीतिक कर्मचारीको कुनै पनि सदस्यको लागि पर्सना नन ग्राटा स्थिति घोषणा गर्न सक्छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com