न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलबाट १५ हजार डलर र १०० फोन लुटपाट


प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीभाषीको मोबाइल पसलमा लुटपाट भएको छ । पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको न्युयोर्क प्रहरीले खसोखासलाई जानकारी दिएको छ । शनिबार बेलुका साढे ८ बजे २ जना अज्ञात बन्दुकधारीहरु पसलभित्र पसेर लुटपाट गरेको रिपोर्ट प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।

लुटपाट ३७५६ ए, ७४ स्ट्रीटमा रहेको मोबाइल पसलमा भएको हो । यो क्षेत्रको प्रहरीको ११५ औं प्रिसिंक्ट अन्तरगत पर्छ । ती व्यक्तिहरूले बन्दुक बोकेका र स्की मास्क लगाएका प्रहरीले जनाएको छ । उनीहरुले रजिष्टरबाट नगद र डिस्प्लेबाट मोबाइलहरु लुटेका थिए ।

लुटेरामध्ये एकजना पुरुषले ४० वर्षीय पसलका कामदारको टाउकोमा हतियारको बटले प्रहार गर्दा घाउचोट लागेको थियो । लुटपाटपछि लुटेहरुले कामदारलाई बाँधेर बेसमेन्टमा लगेर थुनेका थिए । लुटेराहरुले चाबी लिएर पसलको गेट बन्द गरेर लुटेका थिए ।

सीसीटिभी फोड्ने प्रयास गर्दै लुटेरामध्येको एक

त्यसपछि ती पुरुषहरू अज्ञात सवारी साधनमा अज्ञात दिशामा भागेको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै संदिग्धबारे विवरणहरू उपलब्ध नभएको र अनुसन्धान जारी रहेको न्युयोर्क प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

यसैबीच लुटपाटको भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा पसलमा कामदारमात्र भएको बेलामा दुईजना व्यक्ति पसेर कामदारको हात पछाडि लगेर भुईमा लडाएको देखिन्छ । भिडियोमा सम्बाद समेत सुन्न सकिन्छ । लुटेराले ढोकाको चाबी मागेको र त्यसपछि बत्ति बन्द गरेको भिडियोमा देख्न सकिन्छ ।

लुटेरा र कामदारबीच केहीबेर सघंर्ष भइरहेको भिडियोमा देखिन्छ । कामदारलाई लुटेराहरुले टाउकोमा हतियारको बटले प्रहार गर्दा कामदारले आफ्नो रगत आएको बताउँछन् भने लुटेरामध्ये एकजनाले चुप लाग्न निर्देशन दिदै कामदारलाई भुईमा लडाएको र अर्कोले सामानहरु लुटेको भिडियोमा देखिएको छ ।

यत्तिकैमा उनीहरुले सीसीटिभी फुटाउदै कामदारसँग चाँबी मागिरहेको भिडियोमा देखिन्छ । कामदारले आफूसँग चाँबी नभएको, म्यानेजरले चाँबी लिएर गएको बताउँदै बरु आफूलाई गोली हान्न भनिरहेको देखिन्छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा यस अगाडि पनि नेपाली र नेपालीभाषीहरुका स्टोरहरुमा पटकटक लुटपाट हुने गरेको छ । यसअगाडि नै ज्याक्सनहाइटमा नै रहेको नेपालीको मोबाइल पसलमा समेत लुटपाट भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com