दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती


प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार

भजनी (कैलाली): महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बन्नुभएको छ, भजनी नगरपालिका–९ की खिमादेवी धामी ।

चार वर्ष पहिले रु पाँच लाख खर्चेर स्थापना गरेको महुन्याल दुनाटपरी उद्योगले उहाँलाई उद्यमी बनाएको छ । उहाँले अहिले सोही उद्योगबाट घरमै बसेर मासिक रु ४० हजारभन्दाबढी आम्दानी गर्दै आउनुभएको छ । नगरपालिकाको वडा नं.१ भजनी बजारमा सालको पातबाट दुनाटपरी बनाउने उद्योग सञ्चालन गर्नुभएकी खिमाले गाउँका महिलालाई पनि रोजगारीमा जोड्नुभएको छ ।

“गोठाला गएका, गाउँमा फुर्सदमा भएका महिला दिनभर सामुदायिक वनमा गएर पात टिप्नुहुन्छ । त्यो पात हामीले खरिद गर्छौँ”, खिमा भन्नुहुन्छ, “प्रतिकेजी रु ३५ देखि ४० मा खरिद गर्छौ ।” यस उद्योगबाट गाउँका महिलाले पनि घरायसी कामको अतिरिक्त समयको सदुपयोग गर्न पाएका छन् ।

उद्योगबाट आफूहरुलाई आयआर्जनको बाटो पनि खुलेको उहाँको भनाइ छ । भजनी नगरपालिका–९ की तारादेवी पुनमगर खिमाले उद्योग सञ्चालनमा ल्याएपछि घरमै रोजगारी आएको अनुभूति भएको बताउनुहुन्छ । दैनिक घाँस दाउरा, गाईवस्तु चराउनका लागि जङ्गल पुग्नुपर्ने तारादेवी अहिले पात टिप्ने काम पनि सँगै गर्नुहुन्छ ।

घरायसी कामसँगै सालका पात टिपेर पैसा आउन थालेपछि तारादेविको घरको सानोतिनो खर्च टार्ने माध्यम खिमाको उद्योग बनेको छ । “घाँस दाउरा, मेलापात गर्दै उमेरले नेटो काट्न लाग्दा जङ्गलमा कुहिएर खेर जाने सालको पात टिपेर पैसा कमाइ होला भन्ने आफूले नसोचेको उहाँले सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, “आज त्यहीँ सालको पातले घरको खर्च टारेको छ । सानोतिनो रकमका लागि अरुसँग माग्नुपरेको छैन ।” तारादेवी जस्तै वडा नं ९ का मटेरी टोलका अधिकांशले सालको पात सङ्कलन गरी बिक्री गर्दै आएका छन् । स्थानीय क्षेत्रमा प्रशस्त पाइने त्यो पनि खेर गइरहेको वस्तुबाट आम्दानीसँग जोड्नुभएकी खिमालाई उद्योग सञ्चालनको सुरुवातमा बजारीकरणको समस्या भए पनि अहिले बजारको मागलाई भ्याउन सक्नुभएको छैन । उहाँले हप्ताको एक दिन शनिबार स्थानीयवासीले सङ्कलन गरेको पात खरिद गर्दै आउनुभएको छ । हप्तामा रु २० हजारदेखि रु २५ हजारसम्मको सालको पात खरिद गर्दै आएको उहाँ बताउनुहुन्छ ।

“कैलालीका विभिन्न क्षेत्र हुँदै बर्दियालगायत काठमाडौँसम्म उत्पादन भएको दुनाटपरी जाने गरेको छ । उत्पादन भएको वस्तुका लागि बजार पर्खनुपर्ने स्थिति छैन”, उहाँ भन्नुहुन्छ, “उत्पादनको मात्रा बढाउन नसक्दा बजारको मागलाई धान्न मुस्किल भएको छ ।” उद्योगमा दैनिक तीन हजारभन्दा बढी टपरी र छ हजार दुना उत्पादन हुन्छन् । विभिन्न नौ साइजमा दुनाटपरी उत्पादन हुँदै आएका छन् ।

उत्पादन भएको वस्तुको बजारीकरणमा खिमालाई श्रीमान् होमबहादुर बोहराले साथ दिनुभएको छ । उहाँले स्थानीय बजार हुँदै बाह्य बजारसम्म उत्पादन भएको वस्तु पु¥याउने काम गर्दै आउनुभएको छ । “श्रीमतीले उद्योगभित्रको काम हेर्छिन । मैले बजारको काम हेर्ने गरेको छु”, होमबहादुर भन्नुहुन्छ, “श्रीमान् श्रीमती दुवैजना सबै क्षेत्र छोडेर उद्योगलाई अझै स्थापित गर्दै लैजानेतर्फ लागिरहेका छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय स्थानीय तह प्लास्टिक निषेधित क्षेत्र घोषणा हुँदै जाँदा पातबाट बनेका वस्तुको माग बढेको होमबहादुरको भनाइ छ । नेपालबाट मात्रै नभइ छिमेकीमुलुक भारतका स्थानीय व्यापारीबाट पनि वस्तुको माग भइरहेको उहाँले बताउनुभयो । कुनै समय साथीभाइको वैदेशिक रोजगारीले लोभ्याएर वैदेशिक रोजगारीको तयारीमा लाग्नुभएका होमबहादुर विदेशको नाम पनि चाहनुहुन्न ।

“स्वदेशमै सम्भावना हुँदाहुँदै पनि त्यसको पहिचान गर्न नसक्दा अरुले गरिरहेको बाटोमा हिँड्नुपर्ने बाध्यता हुँदोरहेछ । जुन बाटो मैले पनि लहलहैमा रोजिसकेको थिएँ”, होमबहादुरले सुनाउनुभयो, “समयले मलाई यतै केही गर्नुपर्छ भनेर रोक्यो । जसमा श्रीमतीको साथ अनि आत्मविश्वासले मलाई नेपालमै केही गर्नुपर्छ भन्ने कुरा सिकायो । अहिले यो व्यवसायबाट मेरो परिवार सन्तुष्ट छ ।”

दुनाटपरी तयार हुने मेसिनबाट चप्पलसमेत तयार गर्ने गरिएको छ । दुनाटपरीको माग कम भएको समयमा उहाँहरुले सोही उद्योगबाट चप्पल तयार गरेर बिक्रीसमेत गर्दै आउनुभएको छ । चालु आर्थिक वर्षमा उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट ‘एक उद्योग, एक निर्वाचन क्षेत्र’ कार्यक्रम अन्तर्गत मेसिन खरिदका लागि अनुदान पाउनुभएको छ । बीस प्रतिशत लागत सहभागिता रहेको उक्त कार्यक्रमबाट प्राप्त मेसिन आएपछि उद्योगको आकार बढ्ने र बजारको मागलाई थप पूर्ति गर्न सकिने खिमाको विश्वास छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com