सोह्र वर्षदेखि मौनव्रतमा एक साधु


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

म्याग्दीमा एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आउनुभएको छ ।

जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै विसं २०५७ सालदेखि मौनव्रत बस्दै आउनुभएको हो । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको दैनिकीमा लेखेर उहाँले जानकारी दिनुभयो ।

विश्व कल्याणको कामनासहित फलाहार बसेर दैनिक ‘श्रीमद्भागवत’, ‘गीता’, ‘महाभारत’लगायत धार्मिक ग्रन्थको पाठपारायण गर्दै आउनुभएका बेनीको मङ्गलाघाटमा भेटिनुभएका रामानन्दले लेखेर राससलाई जानकारी दिनुभयो । “विश्वमै शान्ति कायम नहुन्जेल म अन्न पनि सेवन गर्दिन, मौनव्रत पनि छाड्दिन”, उहाँले दैनिकीमा लेख्नुभयो ।

पन्ध्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत स्थानबाट मानिसहरू आफूलाई दैनिकजसो भेट्न आउने गरेको पनि उहाँले जानकारी गराउनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com