अमेरिकाले युक्रेनलाई जोगाउन किन खोजिरहेको छ ?
प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले कांग्रेसमा थप सहायता रोकिएर किएभको सेनाले हतियारको अभाव सामना गर्नुपरे पनि अमेरिकाले युक्रेनलाई रुससँगको युद्धमा असफल हुन नदिने वाचा गर्नुभएको छ ।
रिपब्लिकन नेतृत्वको हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनका लागि ६० अर्ब डलरको सहायता प्याकेज रोकेको छ । अमेरिकाले हालैको ३० करोड डलरको प्याकेज केही सातासम्म मात्र रहने चेतावनी दिएको छ ।
“संयुक्त राज्य अमेरिका युक्रेनलाई असफल हुन दिने छैन”, अस्टिनले जर्मनीमा युक्रेनका अन्तर्राष्ट्रिय समर्थकहरूको बैठकमा भन्नुभयो, “हामी युक्रेनलाई क्रेमलिनको आक्रमणको विरोध गर्नका लागि आवश्यक संसाधन उपलब्ध गराउन प्रतिबद्ध छौँ ।” समर्थकहरूले किएभका लागि थप सहायता सुनिश्चित गर्न माग गरिरहेका छन् ।
वासिङ्टनले गत साता युक्रेनका लागि ३० करोड डलरको सहायता घोषणा गरेको थियो तर अस्टिनले भर्खरैको खरिदमा बचतका कारण उक्त सहायता उपलब्ध गराउन सम्भव हुन सकेको बताउनुभयो ।
“रुसले भ्लादिमिर पुटिन शासनको सपनाहरूका लागि अचम्मको मूल्य चुकाएको छ, युक्रेनविरुद्ध आफ्नो आक्रामणलाई सुसज्जित गर्न, तैनाथ गर्न, मर्मत र कायम राख्नका लागि २ खर्ब ११ अर्ब डलरसम्म प्रयोग गरेको छ”, रक्षामन्त्री अस्टिनले आफ्नो टिप्पणीमा भन्नुभयो, “सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता कम्तीमा ३ लाख १५ हजार रुसी सैनिक मारिए वा घाइते भए र युक्रेनले करिब २० वटा मध्यमदेखि ठूला रुसी नौसैनिक जहाजहरूलाई डुबाइदिएको, नष्ट गरेको वा क्षतिग्रस्त बनाएको छ ।” अस्टिन र अमेरिकी अधिकारीहरूले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनको नेतृत्व गर्नुभएको छ ।
वासिङ्टनपछि जर्मनी युक्रेनलाई सैन्य सहायता दिने दोस्रो सबैभन्दा ठूलो दाता हो । जर्मनीले सन् २०२२ फेब्रुअरीमा किएभलाई सहयोग दिनका लागि दशौँ अर्ब डलरको प्रतिबद्धता व्यक्त गरेको छ ।






