पाकिस्तानी पूर्वप्रधानमन्त्री खानको पक्षमा अदालतको आदेश , सजाय थपिएन
प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले खारेज गरेको छ ।
जुलाई २०१४ मा पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उहाँद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित मानहानिको सूचना जारी गर्नुभएको थियो ।
खानले आफ्नो भनाइका लागि माफी नमागे कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी उक्त सूचनापछि चौधरीको कानुनी टोलीले दिएको थियो । चौधरीले जनवरी २०१५ मा औपचारिक रूपमा मुद्दा दर्ता गर्नुभएको थियो ।
मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउनुभएको थियो । द एक्सप्रेस ट्रिब्यूनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानिको सूचना हद नागेपछि जारी गरिएको बताएको छ ।
सन् २०२२ को अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भएयता पाकिस्तान तेहरीक–ए–इन्साफ पीटीआई का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खानले थुप्रै कानुनी चुनौतीको सामना गर्दै आउनुभएको छ । उहाँ हाल रावलपिण्डीस्थित पाकिस्तानी केन्द्रीय कारागारमा हुनुहुन्छ ।






