युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षाका लागि झण्डै ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा
प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने घोषणा गरेको छ । यो सहायता रकम कोषको उपलब्धतामा निर्भर रहने जनाइएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले नेपालको विकास यात्रामा युएसएआइडी ७० वर्षभन्दा लामो समयदेखि अडिग साझेदारको रूपमा रहेको उल्लेख गर्दै यी नयाँ सहायता विस्तारले नेपालका बालबालिकाका लागि ढोकाहरू खोल्न जारी राख्ने तथा होनहार युवाहरूलाई आफ्नो सम्पूर्ण क्षमता साकार पार्न तथा आफ्ना समुदाय र देशको विकासमा सार्थक रूपमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

उक्त कोषले कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन युएसएआइडीले आगामी पाँच वर्ष नेपालका सात वटै प्रदेशका स्थानीय सरकारहरूसँग सहकार्य गर्ने युएसएआइडीले जनाएको छ । विविध पृष्ठभूमि र क्षमताका विद्यार्थीसँग काम गर्न शिक्षक शिक्षिकाको क्षमताबृद्धि गर्न शिक्षक तालिमलाई परिमार्जनका लागि युएसएआइडीले स्थानीय सरकारहरूसँग सहकार्य गर्ने जनाएको छ । त्यसका साथै युएसएआइडीले सीमान्तकृत समुदायहरूमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक, शौचालय, पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकताहरूमा सहयोग पुर्याउने प्रत्यक्ष अनुदान पनि उपलब्ध गराउनेछ ।
युएसएआइडीले सबै प्रदेशमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई सहयोग गर्ने सङ्घीय, प्रादेशिक तथा पालिका सरकारहरूको क्षमतालाई मजबुत बनाउने जनाएको छ । नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई योजना तर्जुमा र बजेट निर्माणका साथै पहुँच अभिवृद्धि, समता तथा समावेशीकरणको प्रवर्द्धन र शिक्षा प्रणालीको उत्थानशीलता सुदृढ गर्नेसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनमा पनि युएसएआइडीले सहयोग गर्ने जनाएको छ ।
त्यस्तै आफ्नो शिक्षा अपूरै छोड्ने सर्वाधिक जोखिममा रहेका युवामा ध्यान केन्द्रित गर्दै युएसएआइडीले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठामा फिर्ता ल्याउने जनाएको छ, विद्यालय बिचमै छाड्नेको सङ्ख्या घटाउने र सबै विद्यार्थीका लागि गुणस्तरीय सिकाइ अनुभवको प्रत्याभूति गर्ने जनाएको छ । यस पञ्चवर्षीय कार्यक्रमको कार्यान्वयन प्लान इन्टर्नेसनल र सोसम्बद्ध समूहले गर्नेछ ।






