अमेरिकामा चन्द्रमायाको हत्याबारे मेडिकल रिपोर्ट सार्वजनिक, घाँटी थिचेर हत्या गरेको निष्कर्ष


प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार

अमेरिकाको ओहायोमा चन्द्रमाया पौडेल रिमालको हत्याबारे समिट काउन्टी मेडिकल परीक्षकको कार्यालयले रिपोर्ट सार्वजनिक गरेको छ । जसमा चन्द्रमायाको हत्या घाँटी थिचेर गरिएको निष्कर्ष निकालिएको छ । बुधबार चन्द्रमायाको शव फेला परकोमा मृत्युको कारणबारे मेडिकल परीक्षकको आधिकारिक रिपोर्ट आउन भने बाँकी रहेको थियो ।

श्रीमति चन्द्रमायाको हत्या अभियोगमा पक्राउ परेका  जेम्स रिमाललाई अदालतले १ मिलियन डलरको धरौटी रकम तोकेको छ । शुक्रबार भएको सुनुवाई पछि अदालतले उक्त धरौटी रकम तोकेको हो । तर रिमालले अँग्रेजी भाषा बोल्न नजान्ने र नेपाली भाषामात्र बोल्ने बताएपछि भाषा अनुवादक उपलब्ध गराउन समेत अदालतले आदेश दिएको छ ।

बिहिबारका लागि तय भएको अदालतको प्रारम्भिक सुनुवाई रद्द भएको भएपछि विहान १० बजे स्टो म्युनिसिपल अदालतमा भिडियोमार्फत सुनुवाई गरिएको थियो । अर्को सुनुवाई मार्च ४ सोमबार विहान साढे १० बजेका लागि भिडियोमार्फत गर्ने तय गरिएको अदालतले जनाएको छ । रिमालले शुक्रबारको सुनुवाईमा घरेलु हिंशा, प्रहरीलाई झुठो विवरण दिएको, शवको दुरुपयोग अभियोगमा आफूविरुद्धको अभियोग अस्वीकार गरेका छन् भने हत्या, घाँटी थिचेको र प्रमाणसँग खेलवाड गरेको अभियोगमा भने अपराध स्वीकार गर्ने वा नगर्ने विषयमा सुनुवाई भएको छैन ।

रिमाललाई अहिले समिट काउन्टी जेलमा राखिएको क्युयाहोगा फल्स प्रहरी विभागले जानकारी दिएको छ । क्युयाहोगा फल्स निवासी बेपत्ता महिला चन्द्रमाया पौडेल रिमालको शव मंगलबार बिहान जंगलमा फेला परेपछि प्रहरीले उनका पति जेम्स रिमालविरुद्ध हत्याको अभियोग लगाएको हो । रिमालविरुद्ध हत्या, घाँटी थिचेको, प्रमाणसँग छेडछाड गरेको, घरेलु हिंसा गरेको, प्रहरीलाई झुठो विवरण दिएको र शवको दुरुपयोग गरेको लगायत ६ वटा गम्भिर अभियोगहरु लगाइएको छ ।

यी अभियोगहरु पुष्टी भएका रिमाललाई कम्तीमा २५ बर्ष जेल सजाय हुनसक्ने कानुनी प्रावधान रहेको छ । हत्या अभियोगमा अनिश्चित अवधिको लागि १५ वर्षदेखि आजीवन कारावास, घाँटी थिचेको अभियोगमा ८ बर्षसम्म जेल सजाय, प्रमाणसँग छेडछाड गरेको अभियोगमा ९ महिनादेखि ३ बर्षसम्म जेल सजायको कानुनी प्रावधान छ । त्यस्तै घरेलु हिंशा सम्बन्धि तीन अभियोगहरुमा पहिलोमा ६ महिनासम्म जेल सजाय, प्रहरीलाई झुठो विवरण दिएकोमा ६ महिनासम्म जेल सजाय, शवको दुरुपयोग गरेको अभियोगमा ३ महिनासम्म जेल सजायको कानुनी प्रावधान छ भने त्यो बाहेक जरिवानाको पनि कानुनी प्रावधान छ ।

प्रहरीले चन्द्रमायाको शव फेला पारेपछि जेम्स रिमाललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । आमाको मृत्यु र बाबु हिराशतमा परेपछि बालबालिकाहरुलाई समिट काउन्टी चिल्ड्रेन सर्भिसले जिम्मा लिएको र तीनजना बच्चाहरूलाई परिवारसँग राखेको प्रहरीले जनाएको छ । तर कस्को परिवारसँग राखिएको भन्नेबारे केही बताइएको छैन । उनीहरुका एक छोरा र दुई छोरी रहेका छन् । कान्छी छोरी सन् २०२२ मा जन्मिएको र अहिले झण्डै १५ महिनाकी रहेको जनाइएको छ ।

जेम्स रिमाल । फोटो: समिट काउन्टी जेल

रिमाल दम्पत्ति दुबैजना नेपालीभाषी भुटानी हुन् भने शरणार्थीका रुपमा अमेरिका आएका थिए । उनीहरू आफ्ना तीन छोराछोरीका साथमा पाँच वर्षभन्दा कम समयदेखि क्युयाहोगा फल्स स्थीत आफ्नो घरमा बस्दै आएका थिए ।

३३ वर्षीया चन्द्रमाया पौडेल–रिमालको शव मंगलबार बिहान ११ बजेतिर मिडलबरी रोडको समिट मेट्रो पार्क फ्रिडम ट्रेल नजिकैको जंगलमा फेला परेको प्रहरीले पुष्टि गरेको हो । समिट काउन्टी मेडिकल परीक्षक अधिकारीले तुरुन्तै मृत्युलाई शङ्कास्पद भनेर उल्लेख गरेका थिए ।

उनी गत बुधबार बिहान बेपत्ता भएको रिपोर्ट गरिएको थियो । उनका पति ३३ बर्षीय जेम्स रिमालले फेब्रुअरी २१ मा चन्द्रमाया आफ्नो कुयाहोगा फल्सको घरबाट बेपत्ता भएको अधिकारीलाई बताएका थिए । आफू बिहान ९ बजे उठ्दा पत्नी चन्द्रमाया हराएको उनले अधिकारीहरुलाई बताएपछि उनको खोजी सुरु गरिएको थियो । प्रहरीले उनीहरुको घर र वरपरको क्षेत्रमा खोजी गरी छिमेकीसँग सोधपुछ गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com