अमेरिकामा पत्नीहत्या अभियोगमा रिमाललाई २५ बर्ष जेल सजाय हुनसक्ने, भाषा समस्याले सुनुवाई भोलि


प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार

अमेरिकाको ओहायोमा श्रीमति चन्द्रमाया पौडेल रिमालको हत्या अभियोगमा पक्राउ परेका नेपाली भाषी जेम्स रिमालको आजका लागि तय भएको अदालतको प्रारम्भिक सुनुवाई रद्द भएको छ । आज विहान १० बजेका लागि स्टो म्युनिसिपल अदालतमा भिडियोमार्फत सुनुवाई तय भएकोमा रिमालले अँग्रेजी भाषा बोल्न नजान्ने र नेपाली भाषामात्र बोल्ने बताएपछि भाषा अनुवादक चाहिने भएकाले सुनुवाई रद्द भएको हो । अर्को सुनुवाई मार्च १ शुक्रबार विहान १० बजेका लागि भिडियोमार्फत गर्ने तय गरिएको अदालतले जनाएको छ ।

रिमाललाई अहिले समिट काउन्टी जेलमा राखिएको क्युयाहोगा फल्स प्रहरी विभागले खसोखासलाई जानकारी दिएको छ । क्युयाहोगा फल्स निवासी बेपत्ता महिला चन्द्रमाया पौडेल रिमालको शव मंगलबार बिहान जंगलमा फेला परेपछि प्रहरीले उनका पति जेम्स रिमालविरुद्ध हत्याको अभियोग लगाएको हो । रिमालविरुद्ध हत्या, घाँटी थिचेको, प्रमाणसँग छेडछाड गरेको, घरेलु हिंसा गरेको, प्रहरीलाई झुठो विवरण दिएको र शवको दुरुपयोग गरेको लगायत ६ वटा गम्भिर अभियोगहरु लगाइएको छ ।

यी अभियोगहरु पुष्टी भएका रिमाललाई कम्तीमा २५ बर्ष जेल सजाय हुनसक्ने कानुनी प्रावधान रहेको छ । हत्या अभियोगमा अनिश्चित अवधिको लागि १५ वर्षदेखि आजीवन कारावास, घाँटी थिचेको अभियोगमा ८ बर्षसम्म जेल सजाय, प्रमाणसँग छेडछाड गरेको अभियोगमा ९ महिनादेखि ३ बर्षसम्म जेल सजायको कानुनी प्रावधान छ । त्यस्तै घरेलु हिंशा सम्बन्धि तीन अभियोगहरुमा पहिलोमा ६ महिनासम्म जेल सजाय, प्रहरीलाई झुठो विवरण दिएकोमा ६ महिनासम्म जेल सजाय, शवको दुरुपयोग गरेको अभियोगमा ३ महिनासम्म जेल सजायको कानुनी प्रावधान छ भने त्यो बाहेक जरिवानाको पनि कानुनी प्रावधान छ ।

चन्द्रमाया पौडेल रिमाल

प्रहरीले चन्द्रमायाको शव फेला पारेपछि जेम्स रिमाललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । आमाको मृत्यु र बाबु हिराशतमा परेपछि बालबालिकाहरुलाई समिट काउन्टी चिल्ड्रेन सर्भिसले जिम्मा लिएको र तीनजना बच्चाहरूलाई परिवारसँग राखेको प्रहरीले जनाएको छ । तर कस्को परिवारसँग राखिएको भन्नेबारे केही बताइएको छैन । उनीहरुका एक छोरा र दुई छोरी रहेका छन् । कान्छी छोरी सन् २०२२ मा जन्मिएको र अहिले झण्डै १५ महिनाकी रहेको जनाइएको छ ।

रिमाल दम्पत्ति दुबैजना नेपालीभाषी भुटानी हुन् भने शरणार्थीका रुपमा अमेरिका आएका थिए । उनीहरू आफ्ना तीन छोराछोरीका साथमा पाँच वर्षभन्दा कम समयदेखि क्युयाहोगा फल्स स्थीत आफ्नो घरमा बस्दै आएका थिए ।

३३ वर्षीया चन्द्रमाया पौडेल–रिमालको शव मंगलबार बिहान ११ बजेतिर मिडलबरी रोडको समिट मेट्रो पार्क फ्रिडम ट्रेल नजिकैको जंगलमा फेला परेको प्रहरीले पुष्टि गरेको हो । समिट काउन्टी मेडिकल परीक्षक अधिकारीले तुरुन्तै मृत्युलाई शङ्कास्पद भनेर उल्लेख गरेका थिए ।

उनी गत बुधबार बिहान बेपत्ता भएको रिपोर्ट गरिएको थियो । उनका पति ३३ बर्षीय जेम्स रिमालले फेब्रुअरी २१ मा चन्द्रमाया आफ्नो कुयाहोगा फल्सको घरबाट बेपत्ता भएको अधिकारीलाई बताएका थिए । आफू बिहान ९ बजे उठ्दा पत्नी चन्द्रमाया हराएको उनले अधिकारीहरुलाई बताएपछि उनको खोजी सुरु गरिएको थियो । प्रहरीले उनीहरुको घर र वरपरको क्षेत्रमा खोजी गरी छिमेकीसँग सोधपुछ गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com