कति नेपालीले पाउँछन् अमेरिकाको कामदार भिसा? विगत ४ महिनामा ३९५ जनालाई ‘एच वान बी’


प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा ९० जना नेपालीहरुले कामदार भिसा एचवानबी भिसा पाएका थिए भने उनीहरुका २६ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए । नोभेम्बरमा यो संख्या अझ बढेको थियो । नोभेम्बरमा १५० जना नेपालीहरुले कामदार भिसा एचवानबी प्राप्त गर्न सफल भए भने १६ जना उनीहरुका आश्रितहरुले एचफोर भिसा पाए । डिसेम्बरमा कामदार भिसा एचवान बी पाउने नेपालीहरुको संख्या ९९ थियो भने उनीहरुका २८ जना आश्रितहरुले यो भिसा पाए ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनवरीको पनि तथ्यांक सार्वजनिक गरिसकेको छ । जनवरीमा ५३ जना नेपालीहरुले कामदार भिसा एचवानबी प्राप्त गर्न सफल भए । त्यस्तै उनीहरुका २९ जना आश्रितहरुले पनि एचफोर श्रेणीको भिसा पाए । यसरी चालु आर्थिक बर्षको चार महिनामा मात्र ३९५ जना नेपालीहरुले कामदार भिसा एचवान बी पाइसकेका छन् भने ९९ जना उनीहरुका आश्रितहरुले एचफोर भिसा पाइसकेका छन् ।

गत आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । यो संख्या २०२२ मा भने ९०५ थियो । आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । २०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए ।

नेपाली पासपोर्ट

सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।
अमेरिकाको अध्यागमन तथा राष्ट्रियता ऐन अनुशार अमेरिकन रोजगारदाता कम्पनीले विशेष ज्ञान भएका विदेशी कामदारलाईमात्र यो भिसा अन्तरगत आवेदन दिनसक्छ ।

यो भिसामार्फत विश्वका विभिन्न देशबाट आइटी लगायतका क्षेत्रमा विशेष ज्ञान भएका कामदारहरु अमेरिका भित्रिने गर्छन्, जसमध्ये भारतीयहरुको संख्या सबैभन्दा धेरै रहेको छ । विशेष पेशाका लागि विशेष ज्ञान र कम्तीमा स्नातक तहको अध्ययन वा सो सरहको अनुभव हुन अनिवार्य छ ।

यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।

आर्थिक बर्ष २०२५ का लागि कामदार भिसा एचवान बीको लोटरी आगामी मार्च ६ देखि खुल्दैछ ।  मार्च २२ को दिउसो १२ बजेसम्ममात्र अनलाइनबाट दर्ता गर्न सकिनेछ । युएससीआईएसमा अनलाइन एकाउन्ट खोलेर रोजगारदाता वा उनीहरुका प्रतिनिधिहरुले कामदारको विवरण दर्ता गर्न सक्नेछन् । यो भिसाका लागि कामदार आफैले दर्ता गर्न मिल्दैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com