नेपालबाट अमेरिका आएका भुटानी शरणार्थी रिमालविरुद्ध पत्नीहत्या अभियोग, ३ बच्चाको विजोग


प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार

अमेरिकाको ओहायोमा श्रीमति चन्द्रमाया पौडेलको हत्या अभियोगमा उनका पति जेम्स रिमाल पक्राउपछि उनीहरुका तीन बच्चाको विजोग भएको छ । क्युयाहोगा फल्स निवासी बेपत्ता महिला चन्द्रमाया पौडेल रिमालको शव मंगलबार बिहान जंगलमा फेला परेको थियो भने उनका पति जेम्स रिमालविरुद्ध हत्याको अभियोग लगाइएको छ।

उनीहरु दुबैजना नेपालीभाषी भुटानी भएको र शरणार्थीका रुपमा अमेरिका आएको जनाइएको छ । उनीहरुले अमेरिका आइसकेपछि विवाह गरेका थिए । छिमेकीहरुका अनुशार उनीहरू आफ्ना तीन छोराछोरीका साथमा पाँच वर्षभन्दा कम समयदेखि क्युयाहोगा फल्स स्थीत आफ्नो घरमा बस्दै आएका थिए । उनीहरुका एक छोरा र दुई छोरी रहेको तथा कान्छी छोरी सन् २०२२ मा जन्मिएको जनाइएको छ ।

३३ वर्षीया चन्द्रमाया पौडेल–रिमालको शव मंगलबार बिहान ११ बजेतिर मिडलबरी रोडको समिट मेट्रो पार्क फ्रिडम ट्रेल नजिकैको जंगलमा फेला परेको प्रहरीले पुष्टि गरेको छ । समिट काउन्टी मेडिकल परीक्षक अधिकारीले तुरुन्तै मृत्युलाई शङ्कास्पद भनेर उल्लेख गरेका थिए ।

उनी गत बुधबार बिहान बेपत्ता भएको रिपोर्ट गरिएको थियो । उनका पति ३३ बर्षीय जेम्स रिमालले फेब्रुअरी २१ मा चन्द्रमाया आफ्नो कुयाहोगा फल्सको घरबाट बेपत्ता भएको अधिकारीलाई बताएका थिए । आफू बिहान ९ बजे उठ्दा पत्नी चन्द्रमाया हराएको उनले अधिकारीहरुलाई बताएपछि उनको खोजी सुरु गरिएको थियो । प्रहरीले उनीहरुको घर र वरपरको क्षेत्रमा खोजी गरी छिमेकीसँग सोधपुछ गरेको थियो ।

केन्ट प्रहरीले चन्द्रमायाको शव फेला पारेपछि जेम्स रिमाललाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो । मंगलबार प्रहरीले जेम्स रिमाललाई पक्राउ गरिसकेको छ । उनी अस्पतालमा भर्ना भएका थिए । तर उनी के रोगका कारण अस्पतालमा भर्ना भएका हुन् भन्नेबारे केही बताइएको छैन ।

रिमालविरुद्ध हत्या, घाँटी थिचेको, प्रमाणसँग छेडछाड गरेको, घरेलु हिंसा गरेको, प्रहरीलाई झुठो विवरण दिएको र शवको दुरुपयोग गरेको लगायतका अभियोगहरु लगाइएको छ । शवको पोस्टमार्टम रिपोर्ट फागुन २८ गते बुधबार आउने जनाइएको छ ।

ओहायो ब्यूरो अफ क्रिमिनल इन्भेस्टिगेशनले अपराधबारे अनुसन्धान गरिरहेको छ । अधिकारीहरूले चन्द्रमायाको मृत्युको वरपरका परिस्थितिहरूमा गहिरो अनुसन्धान गरिरहेका छन्। चन्द्राको निधनमा शोक व्यक्त गर्दै उनको दुखद मृत्युको लागि न्याय खोज्दै समुदाय शोकमा डुबेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com