यसरी मनाइयो ऋषिपञ्चमी, (फोटो फिचर)
प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्। रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ। नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्वदन्ती पनि प्रचलित छ। ‘प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो। यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो। इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिनुभयो।’ यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिए। रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएका छ।