अमेरिका आएको एकबर्ष नपुग्दै २७ बर्षीया नेपाली नर्सको न्युयोर्कमा निधन, बुबाआमा भेट्ने धोको अधुरै


प्रकाशित मिति : फाल्गुन ८, २०८० मंगलबार

झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाली नर्स इनु योल्मोको न्युयोर्कमा निधन भएको छ । उनको आज बिहान ३ बजेर ३५ मिनेटमा न्युयोर्कको म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्त मल्लले जानकारी दिए ।

ईलाम नाम्सालिङकी  इनु योल्मो क्यान्सरले सिकिस्त भएपछि माउन्ट साइनाई अस्पतालमा आईसीयुमा राखिएको थियो । उनी गत फागुनदेखि बिरामी भएको उनकी साथी मनिषा बुढाले खसोखासलाई जानकारी दिइन् । उनी जुलाईको दोश्रो साता अमेरिका आएकी थिइन् ।

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका आइसकेपछि उनी अमेरिकाको न्युयोर्कमा नर्सको रुपमा कार्यरत रहदै आएकी थिइन् । गत नोभेम्बरमा अत्यन्तै पेट दुखेपछि उनी अस्पतालमा चेकजाँचका लागि पुगेकी थिइन् । त्यसपछि उनलाई आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सर शरीरको अन्य भागमा पनि फैलिसकेकाले उनलाई डाक्टरले बचाउन सकेनन् ।

अविवाहित योल्मोको अमेरिकामा कुनै पनि आफन्तहरु नभएकाले नेपालबाट बुबाआमा र भाईलाई बोलाउन खोजिएको थियो । तर प्रकृया नपुगेको भन्दै काठमाडौंमा रहेको अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि परिवारका सदस्यहरु पनि अमेरिका आउन पाएनन् । जसले गर्दा अन्तिम क्षणमा परिवारका सदस्यलाई भेट्ने उनको धोको पनि अधुरो भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com