पपुवा न्यूगिनीमा जातीय हिंसा भड्कियो,५५ जनाको ज्यान गयो
प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार
पपुवा न्यूगिनीमा जातीय हिंसा भड्किएको छ । दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ५५ जनाको मृत्यु भएको त्यहाँको सरकारले बताएको छ ।
एनगा प्रान्तमा दुई आदिवासी समूह बीचको झगडामा गोली हानाहान भएको र सोही क्रममा मानिसहरु मारिएको राष्ट्रिय प्रहरी बलका प्रवक्ताले जानकारी दिएका छन्।
घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पपुवा न्युगिनीको हाइल्याण्ड क्षेत्र लामो समयदेखि हिंसाग्रस्त क्षेत्र हो। तर हालै भएको आक्रमण र हत्यालाई यो वर्षकै दुःखद घटनाका रुपमा हेरिएको छ।
अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार यो घटना एन्गा प्रान्तकै सबैभन्दा ठूलो हत्याकाण्ड हो । गतवर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरिएको थियो।
द्वन्द्वले उग्र रुप लिएपछि कर्फ्यु र यात्रा प्रतिबन्ध नै घोषणा गरिएको थियो। त्यहाँका आदिवासीहरुबीच प्राय जमिन र सम्पत्तिको बाँडफाँडलाई लिएर द्वन्द्व हुने गरेको बताइएको छ । एजेन्सीहरु






