दुई दशक बिदेश बसेका हिमबहादुरको अनुभव : भेडापालेर बार्षिक २५ लाख सम्म कमाउछु


प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार

दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएका उहाँले आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पस्न थाल्नु भएको हो ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिनुहुन्छ । उहााले करिब ५ सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आउनु भएको छ । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ ।

करिब तीन महिनासम्म मुस्ताङका हिमाली जङ्गलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उहाँले बताउनु भयो ।
घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा–पाटामा गोठ सार्ने गरिन्छ।

मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ । मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजङ्गल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्याएको उहाँले बताउनु भयो ।
‘वैशाख–जेठसम्म्म अब बेँसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ’, उहाँले भन्नुभयो ।

घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उहाँ बताउनु हुन्छ। ‘पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आज त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिर–पाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ’, उहाँले भन्नुभयो ।

४७ वर्षका छन्त्यालले भेडापालनबाट वार्षिक रु २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउनु हुन्छ । ‘भेडाबाख्राको बजारीकरणमा समस्या छैन, भेडा र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन’, उहाँले भन्नुभयो । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् । हिमाली बुकीमा समेत पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ । जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्छ । आफूले निरन्तररूपमा अस्थायी टहराका लागि माग गरे पनि सम्बोधन नभएको छन्त्यालले बताउनु भयो ।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com