अमेरिकामा स्कोर रद्द भएका नेपाली डाक्टर भिसा गुमाउने जोखिममा, ३०-६० दिनभित्र कदम चाल्न सुझाव


प्रकाशित मिति : माघ २०, २०८० शनिबार

युएसएमएलईको पहिलो वा दोश्रो स्टेपको परीक्षाको स्कोर रद्द भएका अमेरिकामा रहेका नेपाली डाक्टरले ३० देखि ६० दिनभित्र अमेरिकामा स्टाटस परिवर्तनका लागि आवेदन नदिए गैरकानुनी उपस्थीति हुनसक्ने कानुन व्यवसायीले चेतावनी दिएका छन् । अमेरिकामा जे वान वा एच वान बी भिसामा रहेर म्याचिङ कार्यक्रममा समावेश भएर रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरुले युनिभर्सिटी सम्बद्ध अस्पताल वा शिक्षण संस्थाबाट म्याचिङ कार्यक्रम रद्द भएको जानकारी दिएको ३० देखि ६० दिनभित्र स्टाटस परिवर्तनका लागि आवेदन नदिए गैरकानूनी उपस्थीति हुनसक्ने कानुन व्यवसायी केशवराज सेडाइले जानकारी दिनुभएको छ । स्टेप ३ को स्कोरमात्र रद्द भएकाहरुको भने रेसिडेन्सी खारेज नहुने भएकाले उनीहरुले युएसएमएलईको रिभ्यालीडेट परीक्षा दिएमात्र पुग्नेछ ।

जे वान भिसामा रहेकाहरुले स्टाटस परिवर्तन गर्नका लागि ३० दिनकोमात्र सहुलियत अवधि हुने र एचवान बी भिसामा हुनेहरुले स्टाटस परिवर्तन गर्नका लागि ६० दिनको सहुलियत अवधि हुने भएकाले उक्त अवधिभित्र स्टाटस परिवर्तनका लागि आवेदन नदिनेहरु उक्त अवधिभित्र नेपाल फर्कनुपर्ने अवस्था आउनसक्ने कानुन व्यवसायी सेडाईको भनाई छ । अमेरिकामा गैर कानुनी उपस्थीति भएको खण्डमा भविश्यमा अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्नुका साथै ग्रिनकार्ड प्राप्त गर्न समेत समस्या हुने भएकाले गैर कानुनी उपस्थीति नहुने सुनिश्चित गर्न स्कोर रद्द भएका डाक्टरहरुलाई सुझाव दिइएको छ ।

black and gray stethoscope

कानुन व्यवसायी सेडाईले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो – ‘एचवानबी भिसामा रहेर रेसिडेन्सी गरिरहेकाहरुको रेसिडेन्सी खारेज भएको खण्डमा उनीहरुले ६० दिनभित्र विद्यार्थी भिसा एफ वान वा बी टु भिसामा स्टाटस परिवर्तनका लागि आवेदन दिन सक्छन् । बीटु भिसाको अवधि ६ महिनामात्र हुने भएकाले उनीहरुले उक्त ६ महिनाभित्र अर्को एचवान बी खोज्ने वा अन्य विकल्पहरु अपनाउनुपर्ने हुन्छ । तर विद्यार्थी भिसा एफ वानमा स्टाटस परिवर्तनका लागि आवेदन दिनेहरुका लागि विकल्प खोज्नका लागि लामो समय हुने भएकाले हतार गरिहाल्न पर्दैन । उनीहरु विद्यार्थी भिसामा रहुन्जेल अध्यागमन स्टाटस जोगाउने अन्य झन्झट हुँदैन ।’

तर अमेरिकाबाट जे वान भिसामा बसेपछि स्वदेश फर्केर २ बर्ष विताउनुपर्ने प्रावधान भएका जे वान भिसा वाहकले भने विद्यार्थी भिसा एफ वान वा भिजिटर भिसा बी टुमा स्टाटस परिवर्तन गर्न पाउँदैनन् । स्वदेश फर्केर २ बर्ष विताउनुपर्ने प्रावधान छुट भएकाहरुले भने विद्यार्थी भिसा एफ वान वा भिजिटर भिसा बी टुमा स्टाटस परिवर्तनका लागि ३० दिनभित्र आवेदन दिनसक्छन् । स्वदेश फर्केर २ बर्ष विताउनुपर्ने प्रावधान भएकाहरुले स्टाटस परिवर्तन गर्न वेभर चाहिने र वेभर लिंदा झण्डै एकबर्ष लाग्ने भएकाले त्यो अवधिसम्म गैर कानुनी उपस्थीति हुने भएकाले उनीहरु नेपाल फर्किनुपर्ने अवस्था आउनसक्ने कानुन व्यवसायीको भनाई छ । तर स्वदेश फर्केर २ बर्ष विताउनुपर्ने प्रावधान भएकाहरुले पनि एक्स्ट्राअर्डिनरी क्षमता भएकालाई प्रदान गरिने ओ वान भिसाका लागि भने ३० दिनभित्र आवेदन दिनसक्छन् । यद्यपी ओ वान भिसा प्राप्त गर्नका लागि आवेदकको असाधारण क्षमता भएको पुष्टी गर्नुपर्छ ।

अमेरिकामा हाल झण्डै ३ सय नेपाली डाक्टरहरुले रेसिडेन्सी गरिरहेको जनाइएको छ । जसमध्ये ठूलो संख्यामा जेवान र एच वान बी भिसामा रहेका छन् । युनिभर्सिटी र अस्पताल प्रणाली र गैर नाफामुलक अस्पतालहरुले डाक्टरहरुका लागि एच वान बी भिसाका लागि आवेदन दिंदा ८५ हजारको सिमाबन्दीभित्र पर्नु नपर्ने र लोटरीमा समावेश हुनु नपर्ने भएकाले जतिबेला पनि आवेदन दिनसक्ने प्रावधान रहेको छ । यही प्रावधान अन्तरगत उनीहरुले एच वान बी भिसा प्राप्त गरेका हुन्छन् । र पछि ग्रिनकार्ड प्राप्त गर्नका लागि स्थीति समायोजनको आवेदन दिइन्छ ।

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले अनुसन्धान पछि नेपालका परीक्षार्थीहरुले परीक्षामा प्रश्नहरुको जवाफ दिंदा असामान्य प्रकारको ढाँचा प्रयोग गरेको पत्ता लागेको भन्दै उनीहरुको नतिजालाई रद्द गरेपछि अमेरिका आइसकेका नेपाली डाक्टरहरु समेत समस्यामा परेका छन् ।

युएसएमएलई परीक्षा उत्तिर्ण गरेर अमेरिका आइसकेकाहरुको समेत पहिलो, दोश्रो र तेश्रो चरणको नतिजासमेत रद्द गरेपछि अमेरिकामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु समस्यामा परेका हुन् । उनीहरुमध्ये कतिपयलाई अस्पताल र युनिभर्सिटीहरुले नआउनका लागि सुचित गरिसकेको जनाइएको छ ।

मंगलरबारको घोषणमा युएसएमएलई कार्यक्रमले अधिकारीहरू परीक्षार्थीहरूलाई नतिजाहरू रद्द गरिएकोबारे सूचित गर्ने प्रक्रियामा रहेको तथा परीक्षार्थीहरूले प्रमाणीकरण परीक्षा लिन आवश्यक हुने जनाइएको छ । कार्यक्रमले यसको अनुसन्धानबारे थप विवरणहरु प्रदान गरेको छैन । साथै कसरी परीक्षार्थीहरुको शंकास्पद ढाँचा पहिचान गरियो भन्ने बारे पनि थप विवरणहरु प्रदान गरिएको छैन ।

प्रभावितहरुलाई युएसएमएलईले सिधै सम्पर्क गरेर नतिजा रद्दबारे जानकारी गराउन सुरु गरिसकेको छ । तर कतिजनाको रद्द गरिएको छ भन्नेबारे विवरण प्राप्त भइसकेको छैन ।

कार्यक्रमले नियमित रूपमा परीक्षार्थीहरूको परीक्षा प्रदर्शनको असामान्य स्कोर ढाँचा वा भिन्नताहरूको लागि अनुगमन र विश्लेषण गर्ने तथा परीक्षार्थीको नतिजाको वैधताको बारेमा प्रश्न उठाउन सुचनाहरुबारे पनि अनुसन्धान गर्नसक्ने विज्ञप्तिमा जनाएको छ । अत्यधिक अनियमित ढाँचाहरू सुरक्षित परीक्षा सामग्रीमा पूर्व अनाधिकृत पहुँचको सूचक हुन सक्ने कार्यक्रमले जनाएको छ ।

केही मेडिकल स्नातकहरूले युएसएमएलईमा चिटिङ गर्ने विद्यार्थीहरू विरुद्धको कारबाही लामो समयदेखि बाँकी रहेको बताएका छन्। युएसएमएलई प्रश्नहरूको अनलाइन बेचबिखन र किनमेल हालैका वर्षहरूमा व्याप्त भएको जनाइएको छ । विक्रेताहरूले ३ सय देखि २ हजार डलरसम्ममा प्रश्नहरु बेच्ने गरेको समेत पाइएको जनाइएको छ ।

युएसएमएलइ कार्यक्रमले चिटिङ रोक्नको लागि धेरै कदम चालेको छ, तर त्यस्ता कदमहरु अप्रयाप्त रहेको चिकित्सा शिक्षाका विज्ञहरुको भनाई छ । युएसएमएलई परीक्षामा समावेश भएका नयाँ विद्यार्थीहरुको पनि नजिता आउने पूर्वसन्ध्यामा युएसएमएलई कार्यक्रमले चालेको यो कदमले नतिजाको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीहरु चिन्तित भएका छन् ।

युएसएमएलईको विज्ञप्तीमा के छ?

युएसएमएलईले विज्ञप्तीमा भनेको छ – ‘३० वर्षभन्दा बढी समयदेखि युएस मेडिकल इजाजतपत्र परीक्षाले अमेरिकामा मेडिकल अभ्यास गर्न इजाजतपत्र प्राप्त चिकित्सकहरूसँग सुरक्षित र प्रभावकारी रूपमा बिरामीहरूको हेरचाह गर्न आवश्यक ज्ञान र क्लिनिकल सीपहरू छन् भनी सुनिश्चित गर्न मद्दत गरेको छ। फलस्वरूप युएसएमएलईको अखण्डता र वैधता सुनिश्चित गर्नु सर्वोपरि छ। युएसएमएलई लिने परीक्षार्थीहरू परीक्षण प्रक्रियाको अखण्डता कायम राख्न सहमत छन् । साथै परीक्षा अभ्यास वा प्रदर्शनहरू पत्ता लगाउन सुरक्षा उपायहरू छन् जसले स्कोर वैधतामा प्रश्न खडा गर्न सक्छ।’

‘युएसएमएलई कार्यक्रमले नियमित रूपमा परीक्षार्थीहरूको असामान्य स्कोर ढाँचा वा भिन्नताहरू, र परीक्षार्थीको नतिजाको वैधताको बारेमा प्रश्नहरू खडा गर्न सक्ने अन्य जानकारीहरूको लागि परीक्षार्थीको परीक्षण प्रदर्शनको अनुगमन र विश्लेषण गर्दछ। चलिरहेको अनुसन्धानको एक भागको रूपमा युएसएमएलई कार्यक्रमले नेपालसँग सम्बन्धित असामान्य परीक्षा प्रदर्शनको ढाँचा पहिचान गरेको छ, जसले परीक्षार्थीहरूको समूहको लागि परीक्षा परिणामहरूको वैधतालाई चुनौती दिन्छ। अत्याधिक अनियमित ढाँचाहरू सुरक्षित परीक्षा सामग्रीमा पूर्व अनाधिकृत पहुँचको संकेत हुन सक्छ। प्रश्नमा नतिजाहरू भएका परीक्षार्थीहरूलाई युएसएमएलई सचिवालयको कार्यालयले उनीहरूको अघिल्लो चरणको स्कोर अमान्य भएको र उनीहरूले प्रमाणीकरण परीक्षा दिन आवश्यक हुनेछ भनी सूचित गर्नेछ । युएसएमएलई कार्यक्रमले प्रमाणीकरण परीक्षाको समय तालिका बनाउन आवश्यक परीक्षार्थीहरुलाई सूचित गर्न र प्रमाणीकरण परीक्षा आवश्यकताहरूबाट प्रभावित स्कोर प्रयोगकर्ताहरू र अन्य सरोकारवालाहरूलाई सहयोग गर्न काम गरिरहेको छ,’ विज्ञप्तीमा अगाडि भनिएको छ ।

मेडिकल स्नातकहरूको लागि शैक्षिक आयोग ईसीएफएमजीले के भन्यो?

यसैबीच इन्टेल्थको विभाग विदेशी मेडिकल स्नातकहरूको लागि शैक्षिक आयोग ईसीएफएमजीले पनि यसबारे वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ – ‘हामीलाई हालै युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेशन युएसएमएलई कार्यक्रमद्वारा नेपालसँग सम्बन्धित विसंगत परीक्षा प्रदर्शनको ढाँचाको आधारमा धेरै परीक्षार्थीहरूको युएसएमएलई परीक्षा अङ्क अमान्य गरिएको सुचित गरिएको छ । युएसएमएलईले प्रभावित व्यक्तिहरूलाई उनीहरूको युएसएमएलई परीक्षा कार्यसम्पादनको स्थितिको बारेमा सिधै सम्पर्क गरेको छ। ईसीएफएमजी प्रमाणीकरणको लागि चिकित्सा विज्ञान परीक्षा आवश्यकता पूरा गर्न आवेदकहरूले युएसएमएलईको चरण १ र चरण २ क्लिनिकल ज्ञान पास गर्नुपर्छ। यो आवश्यकता अनिवार्य छ र ईसीएफएमजी प्रमाणीकरणको मुख्य भाग हो।’

विज्ञप्तीमा थप प्रष्ट पादै भनिएको छ – ‘युएसएमएलई कार्यक्रमले परीक्षका स्कोरहरू अमान्य गर्ने निर्णयको अर्थ अवैध परीक्षण स्कोरहरूले अब ईसीएफएमजी प्रमाणीकरणका लागि आवश्यकताहरू पूरा गर्दैनन्। जसको परिक्षणको अङ्क अमान्य भएको छ उनीहरूलाई जारी गरिएको ईसीएफएमजी प्रमाणपत्रहरू पनि अवैध भएका छन् र ती व्यक्तिहरूलाई अब ईसीएफएमजी प्रमाणित मानिने छैन। ईसीएफएमजी प्रमाणीकरणका लागि परीक्षा आवश्यकताहरू पूरा गर्न पहिले नै नेशनल रेसिडेन्ट म्याचिङ कार्यक्रममा प्रमाणित गरिएका अवैध परीक्षण स्कोर भएका आवेदकहरूलाई अब ईसीएफएमजी प्रमाणीकरणका लागि परीक्षा आवश्यकताहरू पूरा नगरेको रूपमा नेशनल रेसिडेन्ट म्याचिङ कार्यक्रममा प्रमाणित गरिनेछ। रेसिडेन्सी कार्यक्रमहरू, रोजगारदाताहरू, अमेरिकी राज्य मेडिकल बोर्डहरू, वा अन्य संस्थाहरूलाई पहिले पठाइएको ईसीएफएमजी प्रमाणीकरणमा रिपोर्टहरू अद्यावधिक गरिएको जानकारीको साथ पुन पठाइनेछ । अर्थात् प्रभावित व्यक्ति ईसीएफएमजी प्रमाणित नभएको र ईसीएफएमजीको लागि परीक्षा आवश्यकताहरू पूरा नगर्ने विवरण पठाइनेछ ।’

युएएमएलई चरण ३ स्कोरहरूको अमान्यताले भने ईसीएफएमजी प्रमाणीकरणलाई असर नपार्ने प्रष्ट पारिएको छ । तर जे वान भिसामा भिसामा ईसीएफएमजीद्वारा स्पोन्सर भएकाहरूलाई त्यहाँ असर पर्नसक्ने जनाइएको छ । युएसएमएलई कार्यक्रमले परीक्षण स्कोरहरू अमान्य बनाउँदा महत्त्वपूर्ण परिणामहरू ल्याउन सक्ने इन्टेल्थले जनाएको छ । आफूहरु अमेरिकी जनताप्रतिको ठूलो जिम्मेवारीप्रति पनि सचेत रहेको तथा ईसीएफएमजी प्रमाणपत्रले अन्तर्राष्ट्रिय मेडिकल स्नातकहरूको योग्यता र योग्यताको बारेमा अमेरिकी जनस्वास्थ्य प्रणालीलाई प्रदान गर्ने आश्वासनहरूपनि सजग रहेको इन्टेल्थको भनाई छ । इन्टेल्थले प्रभावितहरूलाई थप जानकारी प्रदान गर्नको लागि फ्लोअपको प्रक्रियामा रहेको जनाएको छ ।

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com