अमेरिकामा भिजिटर भिसामा आएको बेला क्यानडा र मेक्सिको गएर फर्कदा के हुन्छ?


प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार

बी श्रेणीको भिजिटर भिसामा अमेरिका आएको बखत तपाईंले क्यानाडा वा मेक्सिकोमा ३० दिनसम्म भ्रमण गर्न सक्नुहुन्छ र अमेरिकामा पुनः प्रवेश गर्न सक्नुहुन्छ । ३० दिनभित्र अमेरिका फर्कदा तपाईलाई नयाँ आई ९४ दिइदैन । तर तपाईंले पहिलो पटक प्रवेश गर्दा प्राप्त गर्नुभएको फारम आई ९४ मा उल्लेख गरिएको समयसीमा भित्र पुनः प्रवेश गर्नुपर्छ ।

उदाहरणका लागि यदि तपाईं भिजिटर भिसा लिएर जुलाई १० मा अमेरिकामा आइपुग्नुभयो र ५ महिनापछि अर्थात् डिसेम्बर १० वा त्यसपछि तपाईंले क्यानाडा वा मेक्सिको भ्रमण गर्ने निर्णय गर्नुभयो भने तपाईंले आफ्नो अमेरिकाबस्ने छ महिनाको अवधि जनवरी १० सम्ममात्र छ भनी याद गर्नुपर्छ। भिसा थपका लागि आवेदन नदिदासम्म तपाईले अमेरिकामा ओभरस्टेबाट बच्न जनवरी १० अगाडि नै अमेरिकाबाट प्रस्थान गर्नुपर्छ ।

छ महिनाको अवधि तपाइँ अमेरिका आइपुगेको दिनबाट कम्प्युटरबाट गणना हुने अवधि हो । अप्रत्याशित वा आपतकालिन अवस्था आउन सक्ने भएकाले यात्रा योजना बनाउदा आफ्नो छ महिनाको बसाइको अन्तिम दिनसम्म पर्खिनु हुँदैन।

यदि तपाईंले इङ्गल्याण्ड वा कोस्टा रिका जस्ता अन्य देशहरू भ्रमण गर्नुभयो र त्यसपछि अमेरिका फर्कनुभयो भने तपाईंको तपाईंको आई ९४ नयाँ हुन्छ । अर्थात् नयाँ प्रवेशका रुपमा तपाई फर्केको दिनबाट नै नयाँ ६ महिनाको अवधि गणना हुन्छ । तर यसरी गर्दा सीबीपीको निरीक्षण कडा हुन सक्छ।

तपाईले सीबीपी अधिकारीलाई तपाई अर्को देशमा घुमेपछि बारम्बार अमेरिका फर्कनुको साटो आफ्नो देशमा फर्केर जान चाहेको प्रमाण दिनुपर्ने हुनसक्छ । बीवान वा बीटु भिसाले तपाईंलाई अमेरिका भ्रमण गर्नको लागि मात्र अनुमति दिन्छ। यदि सीबीपी अधिकारीलाई तपाईं वास्तविक रुपमा अमेरिका निवासी हुन प्रयास गर्दै हुनुहुन्छ भन्ने शंका भएमा तपाईंको प्रवेश अस्वीकार गरिनेछ।

पुनः प्रवेश तपाइँको योग्यतामा निर्भर गर्दछ। यदि भिसा जारी भइसकेपछिको अवधिमा तपाइँ पक्राउ पर्नु भएको छ वा कुनै अवैध कार्य गरेको कारण वारेन्ट जारी भएको छ भने तपाइँलाई प्रवेश अस्वीकार गर्न सकिन्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com