४५ किमिमा ९ सय भाडा


प्रकाशित मिति : भाद्र ८, २०७४ बिहीबार

भाद्र ८, २०७४- बाँफिकोट गाउँपालिका–३ का शेरवीर दाहाल यसअघि ५ सय रुपैयाँ तिरेर पटकपटक चौरजहारी पुगेका थिए । सदरमुकाम खलंगाबाट चौरजहारी सम्मको ४५ किमि सडकमा उनलाई ५ सय पनि महँगो लाग्थ्यो । उनले भाडा महँगो भयो त भन्थे तर सुन्ने कसले ? व्यवसायीको मनपरीमा बिचरा यात्रुको के लाग्थ्यो ? ४५ किमि सडकमा एकतर्फी मात्रै ५ सय तिर्नुको विकल्प उनीसँग मात्रै होइन अरू कसैसँग थिएन ।
उक्त सडकमा गाडी चल्न थालेदेखि एकतर्फी ५ सय तिर्दै आएका यात्रु अहिले भने झन्डै दोब्बर भाडा तिर्न बाध्य छन् । सडक बिग्रिएको, इन्धन महँगिएको र वर्षाका नाममा व्यवसायीले ४५ किमिमा ९ सय रुपैयाँ असुल्दै आएका छन् । हाल उक्त सडक ३ खण्डमा विभाजित छ । यातायात व्यवसायीले जबरजस्ती ३ खण्ड बनाएर सवारी चलाइरहेका छन् । प्रतियात्रु प्रतिखण्ड ३ सयका दरले पूरै सडक यात्रा गर्दा एकतर्फी मात्रै एउटा यात्रुले ९ सय रुपैयाँ तिर्नुपर्छ ।
खलंगादेखि सानीभेरी गाउँपालिकाको सुलीहाले, सुलीहालेदेखि चाइनाबगरसम्म र चाइनाबगरदेखि चौरजहारीसम्मको तेस्रो खण्डमा ३ सयका दरले व्यवसायीले ९ सय रुपैयाँ असुलिरहेका छन् ।
उक्त खण्डमा जिल्ला यातायात व्यवस्था समितिले प्रतिकिमि ९ रुपैयाँ भाडादर कायम गरेको छ । समितिको मापदण्डअनुसार यो सडक ‘ग’ वर्गमा पर्छ । समितिले निर्धारण गरेको भाडाअनुसार ४५ किमिको यो सडकको भाडा प्रतियात्रु ४ सय ५ रुपैयाँ हुनुपर्ने हो । भाडा बढी लिइएकोबारे आफूलाई जानकारी नभएको जिल्ला यातायात व्यवस्था समितिका अध्यक्ष एवं प्रजिअ वंशीकुमार आचार्यले बताए । व्यवसायीकै सहभागितामा भाडादर कायम गरिएकाले त्यसमा धेरै तलमाथि गरिए कारबाही हुने पनि उनले बताए । नियामक निकायले वास्ता नगर्दा सर्वसाधारण मर्कामा परिरहेको दाहालको गुनासो छ । ‘यो मनपरी भयो, ९ सयभन्दा कम भाडामै मान्छेहरू नेपालगन्ज पुग्छन् तर यहाँ अचाक्ली भयो,’ उनले भने ।
चौरजहारी ७ कि मनकुमारी केसीले सडकमा व्यवसायीको मनपरी चलिरहे पनि कसैले वास्ता नगर्दा सर्वसाधारण मारमा परेको बताइन् ।
उक्त खण्डमा सिस्ने हिमाल बस तथा मिनी बस यातायात व्यवसायी समिति, रुकुम यातायात प्रालि र सानोभेरी सेवा समितिले जिप सञ्चालन गर्दै आएका छन् । सुलीहालेमा माथिबाट झरेको पहिरोले व्यवसायीलाई मनपरी भाडा उठाउन सजिलो बनाइदिएको छ । २ साताअघि झरेको पहरो हटाइएको छैन । पहिरोकै कारण खलंगाबाट जाने गाडी सुलीहालेबाट फर्कन्छन् भने चौरजहारी र चाइनाबगरबाट आएका गाडी पनि सुलीहालेबाट उतै फर्कने गरेका छन् । आ–आफ्नो समितिका जिपले बोकेका यात्रु आ–आफ्नै जिपलाई यात्रु दिएर उनीहरू फर्कन्छन् । सिस्ने हिमाल बस तथा मिनी बस यातायात व्यवसायी समिति अध्यक्ष जनककुमार बाँठाले समितिले भाडा नबढाएको तर व्यवसायी आफैंले त्यसो गरेको भए जानकारी नभएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com