यसले काट्दो रहेछ तराईका महिलाको कपाल, जनकपुरमा हेर्नेको भीड


प्रकाशित मिति : भाद्र ८, २०७४ बिहीबार

धनुषासहित तराईका जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला जनकपुरमा ‘कपाल काट्ने किरा’ भेटिएको भन्दै हेर्नेको भीड लागेको छ ।

जनकपुर उपमहानगरपालिकाको रामपुरमा मंगलवार एक युवतीको कपाल काटिने घटना भएसँगै गएका स्थानीय वासिन्दाहरुले केशमै लटपटिएको अवस्थामा एक अनौठो प्रकारको किरा फेला पारेका थिए ।

अनौठो प्रकारको गन्ध पनि आउने किरा समाउने स्थानियबासिन्दाहरुले सानो डब्बामा राखेर जमिनमा गाडेको भएपनि जनकपुरका पत्रकार विकास साह घटना स्थल पुगेर उत्खनन गरेका थिए ।

मंगलबार राति ल्याइएको किरालाई ठुलो बट्टामा राखिएको अवस्थामा राति १ बजे तिर मरेको छ । आज विहान सो किरा हेर्न निकै मान्छेहरुका घुइचो लागेपछि अहिले उक्त किरालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषाका एसपी लालमणि आचार्यले बताएका छन् ।

धनुषाका एसपी आचार्यका अनुसार आफुलाई किराबारे जानकारी प्राप्त भएलगतै किरा जिल्ला प्रहरी कार्यालय ल्याइएको र सो बारेमा किरा अनुसन्धानकर्ताहरुलाई जानकारी गराइएको बताए । उनले अहिले अनुसन्धानकै क्रममा रहेकाले केही भन्न नसकिने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com