‘कुमार लामालाई बेलायतले थुनामुक्त गरेर गल्ति सच्चायो’ – डा. बाबुराम भट्टराई


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर गरेको गम्भिर गल्ती अहिले थुनामुक्त गरेर सच्चाएको बताएका छन् । उनले कुमार लामालाई बेलायतले थुनामुक्त गरेर आफ्नो गल्ति सच्चाएको बताउँदै भने – ‘आगामी दिनमा नेपाली सम्प्रभूता मिच्ने अपराध कसैले नगरोस् ।’

यसैबीच कर्णेल कुमार लामाले डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

महासेनानी कुमार लामालाई थुनामुक्त गर्नको लागि तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पहल सुरु गरेको थियो । लामालाई छुटाउनको लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधानले जानकारी दिए । साथै तत्कालीन सरकारले बेलायत सरकारलाई पत्राचार समेत गरेको थियो ।

विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत लामा (जनवरी २०१३) बेलायतमा पक्राउ परेका थिए । उनलाई माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थिए । आरोप पुष्टि नभएपछि कुमार लामालाई बेलायतले हिजो थुनामुक्त गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com