आप्रवासी सुविधाका लागि नक्कली डकैती गर्ने न्युयोर्कका रामभाई र बलविंदर पक्राउ


प्रकाशित मिति : पुस १७, २०८० मंगलबार

न्युयोर्क सिटीका दुई जना पुरुषले अमेरिका भरका स्टोर र फास्ट फूड रेष्टुरेण्टहरुमा काम गर्ने कामदारलाई अध्यागमन सुविधा दिलाउनका लागि नक्कली सशस्त्र डकैती गरेको संघीय अभियोजकहरूले सार्वजनिक गरेका छन् । उनीहरुले स्टोर र फास्ट फूड रेष्टुरेण्टहरुमा नक्कली डकैती गर्ने र पीडितहरुलाई अध्यागमन सुविधाका लागि आवेदन दिन लगाउने तथा त्यसबापत रकम लिने गरेको खुलासा भएको हो ।

अमेरिकामा केही अपराधका पीडितहरूका लागि गैर आप्रवासी भिसा छुट्याइएको छ । जसका आधारमा पछि पीडितले ग्रिनकार्ड समेत पाउन सक्छन् । आपराधिक गतिविधिको अनुसन्धान वा अभियोजनमा कानून प्रवर्तन वा सरकारी अधिकारीहरूलाई सघाउने त्यस्ता पीडितले पाउने सुविधाको दुरुपयोग गरेको आरोपमा न्युयोर्क निवासी ३६ वर्षीय रामभाई पटेल र ३९ वर्षीय बलविन्दर सिंहलाई पक्राउ गरिएको हो ।

उनीहरु दुवैलाई भिसामा जालसाजी गर्ने षड्यन्त्र गरेको आरोप लगाइएको छ । उनीहरुले कथित पीडितसँगको मिलोमतोमा नक्कली डकैती र लुटपाट गर्ने गरेको तथा उनीहरूका लुटपाटका कथित पीडितहरूले विशेष अध्यागमन भिसाका लागि आवेदन दिने गरेको म्यासाचुसेट्सका अभियोजकहरूले बताएका छन् ।

फोटो: हिङ्घम प्रहरी

पटेल र सिंहले कम्तिमा आठवटा कथित नक्कली डकैतीहरू गरेका थिए, जसमा पसलको निगरानी क्यामेराको अगाडि रजिष्टरबाट नगद खोसेर पसलका क्लर्कलाई हतियारसहित धम्की दिने गरिएको थियो । मार्च २०२३ मा सुरु भएको यो धन्दामा कथित लुटेराहरु भाग्नका लागि पाँच मिनेट कुरेपछि ​​स्टोर क्लर्कहरूले प्रहरीलाई फोन गरेर अपराधको रिपोर्ट गर्ने गरेका थिए ।

कथित डकैतीका नक्कली पीडितहरू प्रत्येकले पटेललाई नक्कली डकैतीमा भाग लिन रकम तिरेका थिए । जबकि पटेलले नक्कली डकैतीका लागि पसलको प्रयोग गरेवापत पसलका मालिकहरूलाई समेत रकम तिरेका थिए । नक्कली डकैतीको उद्देश्य स्टोर क्लर्कहरूलाई विशेष यू भिसाको लागी आवेदन दिन सक्षम पार्नु थियो । जसले मानसिक वा शारीरिक दुर्व्यवहारमा परेका आप्रवासीहरूलाई अपराधीहरूमाथि कारवाहीको प्रकृयामा अमेकिरामा बस्न मद्दत गर्दछ।

क्वीन्समा गिरफ्तार गरिएका सिंहलाई बोस्टन संघीय अदालतमा न्यायाधीश समक्ष हाजिर गरिएको छ । सियाटलमा पक्राउ परेका पटेलले आगामी दिनमा बोस्टनमा संघीय अभियोजकहरूको सामना गर्ने अपेक्षा गरिएको छ । दोषी ठहरिएमा दुवै प्रतिवादीले पाँच वर्षको जेल र साढे २ लाख डलर्सम्म जरिवाना तिर्नुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com