आगामी ६ महिनामा अमेरिकी अध्यागमनमा हुन लागेका ६ परिवर्तन


प्रकाशित मिति : पुस १५, २०८० आईतबार

आगामी ६ महिनामा अमेरिकी अध्यागमनका क्षेत्रमा ६ वटा महत्वपूर्ण परिवर्तनहरु हुन लागेका छन् । थप गैर आप्रवासी भिसालाई अमेरिकी भिसा अन्तरवार्ता छुट, अमेरिका नछाडिकनै निश्चित गैर आप्रवासी भिसा नविकरण, आप्रवासी भिसामा अन्तरवार्ता छुट, डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य, युएससीआईएसको शीघ्र प्रकृया शुल्कबृद्धि, कामदार भिसा एचवानबी दर्ता गर्ने शुल्क सहित युएससीआईएसका आवेदनहरूका लागि शुल्कबृद्धि लगायतका नियमहरु आगामी ६ महिनाभित्र लागु हुने भएका छन् ।

जनवरी १ देखि दुई श्रेणीमा पर्ने गैर आप्रवासी भिसालाई अमेरिकी भिसा अन्तरवार्ता छुट

जनवरी १ देखि दुई श्रेणीमा पर्ने गैर आप्रवासी भिसालाई अमेरिकी भिसा अन्तरवार्ता छुट दिइने भएको छ । अमेरिकी विदेशमन्त्रीले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँगको परामर्श पछि अन्तर्वार्ता छूटको कोटीहरु राष्ट्रिय हितमा भएको निर्धारण गरेका हुन् ।

यी परिवर्तनहरू कन्सुलर अधिकारीहरूद्वारा लागू गरिने र त्यसका आधारमा कन्सुलर अधिकारीले भिसामा अन्तर्वार्ता छुट दिने अधिकार र विवेक प्रयोग गर्नेसक्ने जनाइएको छ । जनवरी १ देखि पहिलो पटक आवेदन दिने अस्थायी कृषि र गैर कृषि कामदार भिसा आवेदकहरूले भिसा अन्तरवार्तामा छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै पहिले कुनै पनि प्रकारको गैरआप्रवासी भिसा जारी गरिएका कुनै पनि प्रकारको गैरआप्रवासी भिसाका लागि आवेदन दिनेहरुले पनि भिसा अन्तरवार्ताका लागि छुट प्राप्त गर्न सक्नेछन् । तर केवल पहिले जारी गरिएको भिसा बी भिसा भएको अवस्थामा बाहेक उनीहरुले त्यस्तो भिसा छुट प्राप्त गर्नेछन् । साथमा पहिले जारी गरिएको भिसा समाप्त भएको ४ बर्ष नाघेको हुनुहुँदैन ।

सबै अवस्थामा आवेदकहरूले अन्तर्वार्ता छूटको लागि योग्य हुन निश्चित कानुनी आवश्यकताहरू पूरा गर्नुपर्छ। यो नियमको कार्यान्वयन आगामी जनवरी १ मा सुरु हुने र वार्षिक रूपमा समीक्षा गरिने जनाइएको छ। यो अधिकार अर्को सूचना नभएसम्म कायम रहने छ।

साथसाथै अघिल्लो भिसाको म्याद समाप्त भएको ४८ महिना भित्र सोही प्रकारको गैरआप्रवासी भिसा नवीकरण गर्ने आवेदकहरू पनि अन्तर्वार्ता छूटको लागि योग्य भइरहनेछन् । उक्त नियम पनि अर्को सूचना नभएसम्म कायम रहने छ।

अन्तर्वार्ता छूटको लागि योग्य हुन, आवेदकहरूले निश्चित मापदण्डहरू पनि पूरा गर्नुपर्छ । उनीहरु भिसाको आवेदन दिने देशका निवासी वा नागरिक हुनुपर्छ । विगतमा कहिलेपनि भिसा अस्वीकार भएको हुनुहुदैन । कुनै स्पष्ट वा सम्भावित अयोग्यता हुनुहुँदैन ।

कन्सुलर अधिकारीहरूले अझै पनि केसका आधारमा वा स्थानीय परिस्थितिहरूको कारणले व्यक्तिगत अन्तर्वार्तामा बोलाउन सक्नेछन् । आवेदकहरूलाई भिसा आवेदन आवश्यकताहरू र प्रक्रियाहरूबारे विस्तृत जानकारीको लागि सम्बन्धित दूतावासको वेबसाइटहरू जाँच गर्न प्रोत्साहित गरिएको छ ।

जनवरी २९ देखि अमेरिका नछाडिकनै निश्चित भिसा नविकरण गर्न सकिने

अमेरिकी विदेश मन्त्रालयले कामदार भिसा एचवानबीमा रहेकाहरुलाई अमेरिका नछाडिकनै भिसा नविकरणका लागि अनुमति दिने कार्यक्रम जनवरी २९ बाटै सुरु गर्ने भएको छ । यो कार्यक्रम फेब्रुअरी २०२४ मा सुरु हुने तय भएतापनि जनवरी २९ बाटै कार्यक्रमको सुरुवात गरिने भएको छ । यसबारे फेडरल रजिष्ट्ररमा सुचना प्रकाशित गरिएको छ ।

यो कार्यक्रमले म्याद सकिएको वा म्याद सकिदै गरेको भिसा भएका केही एचवान बी भिसामा रहेका गैरआप्रवासीहरूलाई विदेशमा रहेका अमेरिकी दूतावासमा यात्रा नगरी आफ्नो भिसा नवीकरणको लागि अमेरिकाभित्रैबाट आवेदन दिन अनुमति दिनेछ। फेब्रुअरी १, २०२१ र सेप्टेम्बर ३०, २०२१ बीच भारतमा रहेको अमेरिकी दूतावासबाट वा २० जनवरी १, २०२० र अप्रिल १, २०२३ बीच क्यानाडामा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेकाहरुले भिसा नविकरण गर्न पाउनेछन् ।

यो कार्यक्रम सुरुमा २० हजार भिसा आवेदनहरूमा सीमित हुनेछ। अमेरिकी विदेश मन्त्रालयले जनवरी २९ र फेब्रुअरी २६ बीच साप्ताहिक रूपमा लगभग ४ हजार आवेदन स्लटहरू जारी गर्नेछ। आवेदकहरूले डिएस १६० फारम अनलाइनमा भर्नुपर्छ । अमेरिकी विदेश मन्त्रालयलको भिसा नवीकरण वेबसाइटबाट यो प्रक्रिया सुरु गरिनेछ । यो कार्यक्रम सबै आवेदन स्लटहरू भरिएपछि वा अप्रिल १ मध्ये जुन पहिले हुन्छ, त्यहीेबला बन्द हुनेछ ।

अमेरिकी दूतावासहरूमा भिसा आवेदन ब्याकलगहरूको प्रभावलाई कम गर्ने प्रयासमा अमेरिकी विदेश मन्त्रालयले यो कार्यक्रम सुरु गर्ने योजना बनाएको हो । महामारीको उचाईमा अमेरिकी दूतावासहरूमा विकसित भएको असाधारण रूपमा लामो भिसा आवेदन ब्याकलगहरू कम गर्ने माध्यमको रूपमा अमेरिकामा नै नविकरण अनुमति दिन पहिलेदेखि नै आग्रह गरिदै आएको थियो ।

अमेरिकाभित्रैबाट भिसा पुन प्रमाणीकरण नयाँ होइन। सन् २००४ सम्म अमेरिकी विदेश मन्त्रालयले केही गैर आप्रवासी भिसा वाहकहरूलाई वाशिंगटन, डीसीमा रहेको विदेश मन्त्रालयको भिसा कार्यालयमा हुलाक मार्फत कागजात पठाएर उनीहरूको भिसा नवीकरण गर्न अनुमति दिदै आएको थियो ।

ई, एच, एल, ओ, पी लगायतका भिसा हुनेहरुलाई यस्तो सुविधा दिइएको थियो । भिसाहरू म्याद सकिनुभन्दा ६० दिन अघि र म्याद समाप्त भएको एक वर्षसम्मको अवधिमा नविकरण गर्नसकिने प्रावधान थियो । २००४ मा खारेज भएको उक्त कार्यक्रम ती विदेशी नागरिकहरूको लागि लोकप्रिय विकल्प थियो जसको देशमा रहेका दूतावासहरूमा आवेदनहरूको उच्च मात्रा र लामो प्रक्रियाको ब्याकलगहरू थिए।

सन् २००१ को सेप्टेम्बर ११ को आतंककारी हमलाहरू पछि लागू गरिएको राष्ट्रिय सुरक्षा कानूनले आवश्यक पर्ने आवेदक बायोमेट्रिक्स सङ्कलन गर्ने माध्यम राज्य विभागसँग नभएकोले यो कार्यक्रम बन्द गरिएको थियो। यद्यपी निश्चित कूटनीतिक र अन्तर्राष्ट्रिय संगठन भिसाहरूको लागि यो विकल्प कायम रहदै आएको छ ।

अमेरिकी दूतावासहरूमा गैरआप्रवासी भिसा नवीकरणको लागि लामो पर्खाइ र ती पर्खाइहरूको कारणले गर्दा हुने अवरोधहरूको सम्भावनाको सामना गर्ने विदेशी नागरिकहरूको लागि विदेश मन्त्रालयको कार्यक्रम आशाजनक समाचार हो। परीक्षण पूरा भएपछि अमेरिकी विदेशमन्त्रालयलाई कार्यक्रम पूर्णरुपमा लागु गर्न केही महिना लाग्नसक्छ ।

अमेरिकाको आप्रवासी भिसामा अन्तरवार्ता छुटबारेको नियम फेब्रुअरीमा

अमेरिकाको आप्रवासी भिसा आवेदकलाई कन्सुलर अधिकारीसमक्ष अन्तरवार्ता छुटको प्रावधानसहितको अन्तिम नियम फेब्रुअरीमा ल्याउने तय भएको छ । अमेरिकी विदेश मन्त्रालयले यो नियम गत अक्टोबरमा ल्याउने योजना बनाएपनि अब नयाँ मिति फेब्रुअरीका लागि तोकिएको हो ।

यो नियमले कस्ता आप्रवासी भिसा आवेदकहरूलाई कन्सुलर अधिकारी समक्ष उपस्थित हुनको लागि आवश्यकतालाई छुट दिने अनुमति दिने भन्नेबारे विवरण प्रस्तुत गर्नेछ । योग्यता मापदण्डहरू सहित नियमका विवरणहरू अझै सार्वजनिक गरिएको छैन ।

कोरोना महामारीको बेलामा अमेरिकाले पहिले आप्रवासी भिसा जारी भएर कुनै कारणवश अमेरिका आउन नपाएकाहरुले पुन आप्रवासी भिसाको आवेदन दिएको खण्डमा उनीहरुलाई भिसा अन्तरवार्तामा छुट दिने व्यवस्था गरेको थियो । तर उक्त नियम अस्थायी नियम रहेको थियो ।

दूतावासहरुले आवश्यक परेमा उनीहरुको अन्तरवार्ता भने तय गर्न सक्नेछन् । स्थानीय अवस्थालाई र हरेक आवेदनलाई मूल्यांकन गरेर कुनै कुनै आवेदनमा अन्तरवार्ता लिने छुट दूतावास र कन्सुलेटहरुलाई रहेको विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम बाइडेन प्रशासनले पुन: ल्याउने

डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम अमेरिकी विदेश मन्त्रालयले पुन ल्याउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले डाइभर्सिटी भिसाका नियमहरूमा संशोधन प्रस्ताव गर्ने योजना बनाएको हो, जसमा आवेदकहरूले अनलाइन डिभी लोटरी भर्दा वैध, म्याद समाप्त नभएको पासपोर्टको जानकारी प्रदान गर्न आवश्यक हुनेछ। यो प्रस्ताव फेब्रुअरी २०२४ मा प्रकाशनको लागि निर्धारण गरिएको छ।

त्यस्तै अमेरिकी विदेश मन्त्रालयले डीभी लोटरी भर्दा इलेक्ट्रोनिक फोटोहरू पेस गर्ने सम्बन्धका नियमहरूमा पनि प्राविधिक अपडेट गर्ने योजना बनाएको छ । त्यस्तै डिभी लोटरीमा अन्य केही अपडेटहरु सहित उक्त प्रस्तावित नियम आउने भएको छ । तत्कालिन ट्रम्प प्रशासनले ल्याएको भन्दा फरक प्रकृयाबाट यो नियम ल्याइने भएको छ ।

सन् २०१९ को जुन ५ मा तत्कालिन ट्रम्प प्रशासनले डिभी लोटरी भर्दा पासपोर्ट अनिवार्य गर्ने अन्तरिम अन्तिम नियम ल्याएको थियो । तर गत फरबरी ४ मा अदालतले ट्रम्पकालिन नियम खारेज गरिदिएको थियो । अमेरिकाको डिस्ट्रिक्ट कोर्ट अफ कोलम्बियाका न्यायाधिस टिमोथी केलीले यो नियम प्रकृया मिचेर ल्याइएको भन्दै खारेज गर्ने फैसला गरेका थिए । केलीलाई तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले नै न्यायाधिस नियुक्त गरेका थिए ।

सोही फैसलाको कार्यान्वयन गर्दै अमेरिकी सरकारको विदेश मन्त्रालयले सन् २०२२ मा पासपोर्ट नचाहिने अन्तिम नियम ल्याएको थियो । जसका कारण गतबर्ष र यो बर्ष डिभी भर्दा पासपोर्ट अनिवार्य थिएन । डिभी भर्न पासपोर्ट अनिवार्य गर्ने नियमले पासपोर्ट नभएकाहरुमा अनावश्यक भार थोपरेको थियो भने डिभी भर्नकै लागिमात्र पासपोर्ट बनाउने बाध्यता समेत श्रृजना गरेको थियो ।

नियम लागु गर्नुभन्दा अगाडि नियम लागु हुने मितिले कम्तीमा ३० दिन अगाडि फेडरल रजिष्टरमा प्रकाशित गर्नुपर्ने तथा कमेन्ट अवधि समेत दिनुपर्ने भएतापनि ट्रम्प प्रशसनले पासपोर्ट अनिवार्य गर्ने नियम ल्याउँदा यो प्रकृया अपनाएको थिएन । त्यसैले अदालतले यसलाई गैरकानूनी रुपमा ल्याइएको ठहर गरेको थियो । तर अब बाइडेन प्रशासनले प्रकृया पूरा गरेर यो नियम ल्याउने तयारी गरेको छ ।

सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्ने प्रावधान ल्याइएको थियो ।

पासपोर्ट अनिवार्य गर्दा पनि सन् २०१९ को सेप्टेम्बरमा खुलेको डिभी २०२१ कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

सन् २०१९ देखि अमेरिकाको डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य भएपछि राहदानी विभागमा पासपोर्ट बनाउनेको भींड उक्त समयमा ६ गुणाभन्दा धेरै बढेको थियो । दैनिक बढीमा ५ सयले पासपोर्टका लागि आवेदन दिने गरेकोमा सन् २०१९ को डिभी खोलेपछि आवेदनको संख्या झन्डै ३ हजार पुगेको थियो ।

युएससीआईएसको शीघ्र प्रकृया शुल्कबृद्धि फेब्रुअरी २६ बाट लागु

युएससीआईएसले मुद्रास्फीति समायोजन गर्न भन्दै शीघ्र प्रकृया शुल्कमा उल्लेख्य बृद्धि गरेको छ । गैरआप्रवासी कामदारका लागि आई १२९, रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४०, गैर आप्रवासी स्थीति परिवर्तन वा थपका लागि आई ५३९ र वर्क परमिटको आवेदन आई ७६५ को शीघ्र प्रकृया शुल्कमा उल्लेख्य बृद्धि गरिएको हो । नयाँ शुल्क आगामी फेब्रुअरी २६ बाट लागु हुनेछ ।

युएससीआईएस स्थिरीकरण ऐनले शीघ्र प्रकृयाका लागि हालको प्रिमियम प्रशोधन शुल्क स्थापना गरेको हो भने द्विवार्षिक आधारमा प्रिमियम शुल्क समायोजन गर्न होमल्याण्ड सेक्युरिटीको लागि अधिकार स्थापना गरेको छ। ऐन पारित भएको तीन वर्षसम्म यी शुल्कहरूलाई अपरिवर्तित छोडेपछि अहिले मुद्रास्फीतिलाई समायोजन गर्न सबै योग्य फारम र कोटीहरूको लागि प्रिमियम प्रशोधन शुल्क बढाउन लागिएको हो ।

नयाँ नियम अनुशार गैरआप्रवासी कामदारका लागि आई १२९का लागि शीघ्र प्रकृया शुल्क एचटुबी वा आर वान गैर आप्रवासी स्थीतिका लागि १५ सय डलरबाट बढाएर १६८५ बनाइनेछ भने अन्य श्रेणीका लागि २५ सय डलरबाट बढाएर २८०५ डलर बनाइनेछ । त्यस्तै एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित सबै श्रेणीका आई १४० को शीघ्र प्रकृयाका लागि पनि शुल्क २५ सय डलरबाट बढाएर २८०५ डलर बनाइनेछ ।

गैर आप्रवासी स्थीति परिवर्तन वा थपका लागि आई ५३९ को शीघ्र प्रकृया शुल्क १७५० डलरबाट बढाएर १९६५ डलर बनाइनेछ । वर्क परमिटको आवेदन आई ७६५ को शीघ्र प्रकृया शुल्क १५ सय डलरबाट बढाएर १६८५ डलर बनाइनेछ । निश्चित विद्यार्थी भिसावाहकका लागि वर्क परमिटको शीघ्र प्रकृया आवेदन दिनसकिने व्यवस्था रहेको छ ।

नयाँ शुल्क फेब्रुअरी २६ बाट लागु हुने भएकाले उक्त मितिमा वा त्यसपछि पोष्टमार्क गरेर प्राप्त भएका आवेदनमा नयाँ शुल्क पठाउनुपर्नेछ । अन्यथा युएससीआईएस शीघ्र प्रकृया अस्वीकार गरेर शुल्क फिर्ता पठाउने जनाएको छ । युएससीआईएसले शीघ्र प्रकृयामार्फत आवेदकलाई छिटो निर्णय दिनुका साथै उल्लेख्य आम्दानी समेत गर्दै आएको छ ।

अप्रिलदेखि अमेरिकी ग्रिनकार्डका लागि १५४० डलर, नागरिकताका लागि ७६० डलर

कामदार भिसा एचवानबी दर्ता गर्ने शुल्क सहित युएससीआईएसका आवेदनहरूका लागि शुल्क बढाउने अन्तिम नियम अब अप्रिल २०२४ मा प्रकाशित गर्ने तय गरिएको छ । यस अगाडि शुल्क बृद्धिको नियम मार्च २०२४ मा प्रकाशनको लागि निर्धारित गरिएको थियो तर सन् २०२३ कै अन्त्यसम्म प्रारम्भिक रूपमा जारी हुने समाचारहरु समेत बाहिर आएका थिए ।

यस अगाडि गर्न लागेको शुल्कबृद्धि अमेरिकाका संघीय न्यायाधिसले रोकेका थिए । शुल्कबृद्धि रोक्ने अदालतको आदेशका कारण युएससीआईएसले  पुरानै शुल्क र आवेदनका पुरानै संंस्करणहरु स्वीकार गरेको थियो ।

अमेरिकी नागरिकता आवेदन एन ४०० का लागि अनलाइन आवेदन शुल्क ६४० रहकोमा ७६० डलर लागु गर्न लागिएको छ । अहिलेको बायोमेट्रिक शुल्क लिइनेछैन ।  अहिलेको प्रावधान अनुशार नागरिकता आवेदन  फाइल गर्नका लागि कम आम्दानी हुनेलाई ३२० डलर र अरुलाई ६४० डलर शुल्क रहेको छ । बायोमेट्रिक शुल्क ८५ डलर रहेको छ ।

 

ग्रिनकार्डको आवेदन आई ४८५ को शुल्क  १५४० बनाउन लागिएको छ ।  बायोमेट्रिक शुल्क लिइनेछैन ।  गैरआप्रवासी भिसा थप वा स्टाटस परिवर्तनका लागि अहिलेसम्म ३७० डलर रहेकोमा नयाँ शुल्क ५२५ डलर रहेको छ ।

प्रस्तावित शुल्कबृद्धि यस्तो छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com