राष्ट्रपति बाइडेनबाट भ्रष्टाचारीलाई अमेरिकामा प्रवेश निषेध गर्ने घोषणामा हस्ताक्षर


प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार

अमेरिकी राष्ट्रपति जो बाइइडेनले भ्रष्टाचारीहरु र भ्रष्टाचारलाई सहजीकरण गर्नेहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेका छन् । विशेष रूपमा यो घोषणाले अमेरिकी विदेश मन्त्रीका लागि त्यस्ता प्रतिबन्धात्मक नियमहरु बनाउने कानुनी अधिकार सिर्जना गर्दछ ।

नयाँ घोषणा अनुशार सम्पत्ति शुद्धीकरणमा अवरोध गर्ने, भ्रष्टाचारको न्यायिक वा अनुसन्धान प्रक्रियामा अवरोध गर्ने, भ्रष्टाचारमा संलग्न हुने, भ्रष्टाचारका लागि सहजीकरण गर्नेहरुलाई अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाइनेछ । तिनीहरूका नजिकका परिवारका सदस्यहरूलाई समेत भिसा प्रतिबन्धहरू लगाइनेछ ।

राष्ट्रपतिको घोषणाले पहिले नै ग्रिनकार्ड पाइसकेकाहरु र एसाइलम लगायतका निश्चित मानवीय अध्यागमन सुरक्षाहरू भएका व्यक्तिहरूलाई भने प्रभाव पार्नेछैन । उनीहरु र उनीहरुका परिवारहरु त्यस्ता भिसा प्रतिबन्धहरूको अधीनमा हुनेछैनन्। थप रूपमा कुनै व्यक्तिको अमेरिका प्रवेश अमेरिकाको हितमा हुने ठहर भएमा अमेरिकी विदेशमन्त्रीले कुनै पनि व्यक्तिलाई छुट दिन सक्नेछन् ।

ह्वाइट हाउसका अनुशार अमेरिका विश्वमा नै पहिलो देश हो जसले भ्रष्टाचार गर्नेहरु र सहजीकरण गर्नेहरुका साथै उनीहरूको नजिकका परिवारका सदस्यहरूलाई भिसा प्रतिबन्ध प्राधिकरण स्थापना गर्दछ। साथै भ्रष्टाचारीहरुहरुको अमेरिकामा रहेको सम्पत्ति समेत रोक्का गरेर उनीहरुलाई लक्षित विद्यमान प्रतिबन्ध अझ जोडदार रूपमा प्रयोग गर्ने अमेरिकी सरकारको अभिप्राय पनि व्यक्त गर्दछ ।

भ्रष्टाचारीलाई भिसा प्रतिबन्ध बाइडेन प्रशासनको भ्रष्टाचार विरोधी पहलको एक हिस्सा हो । यो घोषणा राष्ट्रपतिले खारेज नगरेसम्म लागू हुनेछ। यो घोषणाले नेपालका भ्रष्टाचारीहरुमाथि कस्तो प्रभाव पर्नेछ भन्नेबारे भने आगामी दिनमा मात्र थाहा हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com