इजरायली व्यापारीको स्वामित्वमा रहेको पानीजहाज कब्जापछि यमनका इरान समर्थित हुथी विद्रोही के भन्छन्?


प्रकाशित मिति : मंसिर ४, २०८० सोमबार

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले उनीहरूले लाल सागरमा एक इजरायली व्यवसायीको स्वामित्वमा रहेको पानीजहाज कब्जा गरी यमनको तटमा पुर्याएको बताएका छन् ।

उक्त पानीजहाजको सञ्चालन एक जापानी फर्मले गरेकाले टोक्योले हस्तक्षेप गरी विद्रोहीहरूसँग ‘सिधा’ सम्पर्क गर्नुपरेको छ । गाजापट्टीमा हमाससँग इजराइलको युद्धलाई लिएर विद्रोही समूहले जलमार्गमा इजरायली जहाजहरूलाई निशाना बनाउने धम्की दिएको केही दिनपछि उक्त जहाज कब्जामा परेको हो ।

हुथीका सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जाल एक्समा विद्रोहीहरूले एक इजरायली जहाजलाई कब्जामा लिएर यमनी तटमा पुर्याएको जानकारी दिएका छन् ।

जापानका विदेशमन्त्री योको कामिकावाले भन्नुभयो, “टोक्योले इजराइलसँग कुराकानी गरिरहेको छ, हुथीसँग सिधा सम्पर्क गर्नुका साथै जहाज र चालक दलका सदस्यहरूलाई शीघ्र रिहाइका लागि हुथीहरूसँग दृढतापूर्वक आग्रह गर्न हामीले साउदी अरब, ओमान, इरान र अन्य सम्बन्धित मुलुकहरूलाई पनि आग्रह गरिरहेका छौँ ।”

इजराइल, जापान र अमेरिकाले जहाज कब्जाको निन्दा गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले जहाजको स्वामित्व एक ब्रिटिश कम्पनीसँग रहेको र जापानी फर्मले सञ्चालन गरेको जानकारी दिएको छ ।

जापानको एनवाइके लाइन नामले पनि चिनिने निप्पोन युसेनले आफूले बहमास–ध्वजाङ्कित ग्यालेक्सी लिडर सञ्चालन गरेको पुष्टि गरेको छ ।

“हामीले कम्पनीबाट चार्टर गरेको कार वाहक ग्यालेक्सी लिडरलाई होदेइदा तट नजिकै यात्रा गर्दा कब्जा गरिएको सूचना बेलायतको ग्यालेक्सी मेरिटाइमबाट पाएका थियौँ”, निप्पोन युसेनले भनेको छ । उसले सूचनाहरू सङ्कलन गर्न र २५ सदस्यीय चालक दलको सुरक्षा सुनिश्चित गर्न एउटा कार्यदल गठन गरिएको जानकारी दिएको छ ।

“जबसम्म गाजाविरुद्ध आक्रामकता बन्द हुँदैन र गाजा तथा पश्चिम किनारमा हाम्रा प्यालेस्टिनी दाजुभाइविरुद्ध भयानक अपराध बन्द हुँदैन तबसम्म हुथी सेनाले इजरायली दुश्मनविरुद्ध सैन्य कारबाही जारी राख्नेछ”, हुथीका सैन्य प्रवक्ता याह्या सारीले भन्नुभयो ।

हुथीहरूले एउटा व्यापारिक जहाज कब्जामा लिएको र त्यसलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको तटीय सहर होदेइदास्थित सलिफ बन्दरगाहमा लगेको एक यमनी समुद्री स्रोतले बताएको छ ।

इजरायली सेनाले एक्समा भनेको छ, “हुथीले एउटा मालवाहक जहाज अपहरण गरेको छ, विश्वव्यापी परिणामको यो एउटा गम्भीर घटना हो ।” उसले उक्त जहाज टर्कीबाट भारतका लागि प्रस्थान गरेको र जहाजमा विभिन्न मुलुकका नागरिक सवार भए पनि इजरायली नागरिक नरहेको बताएको छ । उसले उक्त जहाज इजरायली नभएकोमा पनि जोड दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com