बाढीले बगाएको गैंडा चितवन घर फर्कियो
प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

बाढीले बगाएर नेपालबाट भारत पु-याएको एउटा दुर्लभ एकसिंगे गैंडालाई नेपाली अधिकारीहरुले घर फर्काएका छन्।
भारतबाट उक्त गैंडालाई नेपाल फर्काउन चालिसजना नेपाली अधिकारीहरुको टोली परिचालन गरिएको थियो।
“भारतीय वन अधिकारीहरुको सहयोगमा उक्त गैंडालाई फर्काएर ल्याउन हामी सफल भएका हौं।”, चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन नुरेन्द्र अर्यालले बीबीसी नेपाली सेवालाई बताए।
गाउंको उखुबारीमा रहेको गैंडालाई बेहोस बनाई मानिसले तानेर निकै कठीनतापूर्वक ट्रकसम्म ल्याइएको उनले बताए ।
गैंडा हेर्न बगाहा गाउका हजारौको संख्यामा स्थानीयवासीको घुंईचो लागेको बताइएको छ।
गैंडा उद्धारको लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति सरक्षण कोष सौराहाका ४० जना प्राविधिक र कर्मचारीहरु गएका थिए ।
भारतमा पुगेको गैंडालाई छोटो समयमा नै उद्धार गर्न सफल भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्रशासकीय अधिकृत रामकुमार अर्यालले बताए।

बाढीका कारण चितवनमा एउटा गैंडा मरेको बताइएको छ।
दुईवटा गैंडा भारतको बाल्मीकी नगरको जंगलमा रहेका र अरु दुईवटा नवलपरासी क्षेत्रमा रहेको अधिकारीहरुले बताएका छन् ।
भारतमा रहेका दुईवटा गैंडालाई पानी घटेपछि नेपाल ल्याउने योजना रहेको बताइएको छ ।

हालैको मनसुनी वर्षाले नेपाल, भारत र बांग्लादेशमा ठूलो क्षति पुर्याएको छ।
छ सय भन्दा बढी एकसिंगे गैंडा बसोबास गर्ने नेपालको चितवन राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्र पनि बाढीको चपेटामा परेको थियो।
गत हप्ता मात्रै त्यहांको लोकप्रिय पर्यटकीय स्थल सौराहामा बाढीका कारण अलपत्र परेका झण्डै पांचसय पर्यटकहरुलाई हात्ती र साना डुँगाहरुबाट उद्धार गरिएको थियो।