भारतमा १० वर्षीया बलात्कृत बालिकाले शिशु जन्माइन्


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

भारतमा आफ्नै काकाले बलात्कार गरेपछि गर्भवती बनेकी एक दश वर्षिया बालिकाले सिजरियन शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी छन्। यसअघि गर्भपात गराउन दिन उनले दिएको याचिकालाई अदालतले अस्वीकार गरेका थिए। विवरणहरुमा जनाइए अनुसार ती बालिकालाई तिनले शिशुलाई जन्म दिंदैछिन् भन्ने जानकारी दिइएको थिएन। केवल उनको पेटको शल्यक्रिया गरिने उनलाई भनिएको थियो।

पेटमा ठूलो ढुंगा रहेकाले ठूलो भएको भनी उनलाई भनिएको थियो। उनले जन्म दिएको शिशुको तौल साढे दुई किलो रहेको छ। समय अगावै जन्मिएकी उनकी शिशुलाई हाल आपतकालीन स्वास्थ्य सेवा प्रदान गरिंदैछ। आमा र बच्चा दुवैको स्वास्थ्य ठिकै रहेको बताइएको छ। ती शिशुलाई अन्य कसैले धर्मपुत्री बनाइ पाल्न सक्ने ठानिएको छ।

बलात्कृत बालिकाकी काकालाई पक्राउ गरिएको छ। बालिकाले ती काकाले गत सात महिनाको अवधिमा आफूलाई पटकपटक बलात्कार गरेको बताइन्।उनी गर्भवती भएको जुलाईको मध्यतिर थाहा भएको थियो। त्यतिखेर उनले पेट दुखेको भनेपछि अस्पताल लगिएको थियो।

चन्डीगढको एक स्थानीय अदालतले गर्भवती भएको निकै समय भइसकेको र सो अवस्थामा गर्भपतन गर्दा उनको ज्यान जोखिममा पर्ने सक्ने चिकित्सकहरुको राय भएको भन्दै उनलाई गर्भपतनको अनुमति दिएन। पछि सर्वोच्च अदालतले पनि तिनै कारणहरु देखाएर गर्भपतन गर्न अनुमति दिएन। यस घटनाबारे भारतमा निकै बहस भएका थिए।
बीबीसी नेपाली सेवाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com