‘खोइ सरकारी राहत?’


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

हालसम्म बाढीपहिरोका कारण ज्यान गुमाउनेहरुको संख्या १२८ पुगिसकेको गृह मन्त्रालयले जनाएको छ। ३३ जना अझै हराइरहेका छन्।

सरकारले अब उद्धारकार्य सकिएको र राहतकार्य शुरु भएको बताएको छ।

तर धेरै ठाउँमा राहत पुग्न नसकेको पीडितहरुले गुनासो गरेका छन्।

पर्खाई

खोलाले कटान गरेर सडक भत्केर सवारी साधन पुग्न नसक्ने स्थानका बाढी पीडितहरुले आफूहरुले धेरै दिनसम्म भातसमेत खान नपाएको बताएका छन्।

माईखोलाको भंगालो फुटेर टापु जस्तो बनाएको पूर्वी नेपालको झापा गाउँपालिकाको सिमलबाडी बस्तीका बाढी पीडितले कुनै पनि सरकारी राहत नपाएको गुनासो व्यक्त गरेका छन्।

इलाका प्रहरी कार्यालय कुमरखोदमा भेला भएका बाढी पीडित राहतको पर्खाईमा बसिरहेका थिए। तर बाढी आएको दिनदेखि तीन छाक मात्र खाना खान पाएको उनीहरुले बताए।

सिमलबाडीकी कमला हेमरमले अहिलेसम्म सरकारको राहत आफूले नपाएको बताइन्।

बाढी पिडिततस्वीर 

अर्की बाढी पीडित रुक्मणि राजवंशीले विपदका बेलामा पनि सरकारले नहेरेको भन्दै आक्रोश पोखिन्।

बाढीमा ज्यान गुमाएका सोही गाउँका कालीप्रसाद राजवंशीका छोरा कैलाश राजवंशीले पनि गाउँघरको सहयोग बाहेक सरकारको कुनै सहयोग नपाएको बताए।

सहयोग

उनले भने, “अहिलेसम्म स्थानीयबासीबाट १५ सय रुपैयाँ सहयोग भएको छ। उहाँहरुले १० केजी चामल दिनुभयो। तर सरकारले केही दिएन।”

झापा बजार समितिका उपाध्यक्ष मनोजकुमार गणेशका अनुसार स्थानीय युवा मिलेर बाढी पीडितलाई खानेकुरा खुवाइँदै गरिएको छ।

तर झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सबै बाढी तथा डुबान पीडितहरुका लागि राहत पुगोस् भनेर आफू प्रयासरत रहेको बताए।

उनले बुधबारबाटै बाढी तथा डुबानमा परि मृत्यु भएका परिवारका लागि प्रशासनले स्थानीय स्तरमै राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com