श्रम सम्बन्धी सम्पूर्ण काम अब अनलाइन प्रणालीमार्फत् हुने


प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण कामहरु अबदेखि अनलाइन प्रणालीमार्फत् हुने गरी तयार पारिएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै विभागका सम्पूर्ण सेवाहरु अब अनलाइन मार्फत् हुने जानकारी दिइएको हो । अबदेखि विभाग र मातहतका कार्यालयबाट अनलाइन प्रणालीमार्फत् सेवा सुरु हुने विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिनुभएको छ ।

विभागको अनलाइन पोर्टलमा गई आफ्नो प्रोफाइल तयार पारेपछि आवश्यक रहेका कागजात सोही पोर्टलमा पेश गर्न सकिने गरी प्रणालीको विकास गरिएको छ ।

विदेशी नागरिकलाई श्रम इजाजत दिने र खारेज गर्ने, श्रमिक आपूर्तिकर्ता सम्बन्धी काम गर्ने, इजाजत पत्रको नविकरण गर्ने, इजाजत खारेजी गर्ने र सेवा तथा कार्यक्षेत्र परिवर्तन गर्ने, ट्रेड युनियन दर्ता र नविकरण गर्ने, ट्रेड युनियनको नाम परिवर्तन गर्ने, खारेज गर्नेलगायतका सबै काम अनलाइन प्रणालीमार्फत् हुने गरी विकास गरिएको हो ।

अनलाइन प्रणालीमार्फत् न्यूनतम पारिश्रमिक सम्बन्धमा निवेदन दर्ता गर्ने, व्यक्तिगत र सामुहिक मागदावी पेश गर्न सकिने, व्यवसायजन्य दूर्घटनाको विवरण दर्ता गर्ने, सूचिकृत गर्ने लगायतका सम्पूर्ण काम अनलाइन मार्फत् हुनेछ ।
शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले अनलाइन प्रणाली प्रभावकारी हुने जानकारी दिनुभयो । श्रम क्षेत्रमा रहेका विभिन्न समस्याको उजुरी अनलाइन प्रणालीमार्फत् लिने र त्यसको समाधानमा पनि तत्काल काम गरिने मन्त्री भण्डारीको भनाई छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com