निर्वाचन खर्च विवरण नबुझाएकोमा आयोगद्वारा बाहलवाला मन्त्रीसहित २४ सयलाई १५/१५ हजार जरिवाना


प्रकाशित मिति : श्रावण ९, २०८० मंगलबार

काठमाडौं । निर्वाचन आयोग नेपालले तोकिएको समयभित्र खर्च विवरण नबुझाएको भन्दै २४ सयभन्दाबढी उम्मेदवारलाई कारवाही गरेको छ ।

आयोगले कारवाही गरेकाहरुमा विभिन्न दलका शीर्ष नेताहरु समेत रहनुभएको छ । कारवाहीमा पर्नेहरुमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, एमाले नेता राजन भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्त ठाकुर, वर्तमान नेपाल सरकारका श्रममन्त्री शरदसिं भण्डारी, खानेपानी मन्त्री महिन्द्र राय यादव, राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम र पूर्व सभामुख ओनसरी घर्तीलगायत हुनुहुन्छ ।

त्यसैगरी, परराष्ट्रमन्त्री एनपी साउद, काँग्रेस प्रमुख सचेतक रमेश लेखक, उमाकान्त चौधरी, स्वतन्त्र उम्मेदवार रन्जु दर्शना, मिलन पाण्डे, सुशासन पार्टीका अध्यक्ष रमेश खरेल पनि १५ हजार जरिवानामा पर्नुभएको छ ।

आयोगले आज मंगलबार सार्वजनिक गरेको विज्ञप्ती अनुसार, निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ जना उम्मेदवारलाई जनही १५ हजार जरिवाना हुने उल्लेख छ ।

आयोगका अनुसार, १ हजार ३७ जना प्रतिनिधिसभाका उम्मेदवार र १ हजार ३९८ जना प्रदेशसभाका उम्मेवारलाई सो रकम जरिवना हुने निर्णय भएको छ । गत वैशाख ४ गते भएको निर्वाचनमा उम्मेदवार भएकाहरुले सो निर्वाचनमा भएको खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था विपरित खर्च विवरण नबुझाइएकोले ती उम्मेदवारहरुलाई निर्वाचन ऐन २०७३ अनुसार १५ हजार जरिवाना हुने ठहर भएको हो ।

आयोगले तोकिएको जरिवाना रकम ३५ दिनभित्र दाखिला गर्न र सो को भौचरसहित आयोग वा निर्वाचन कार्यालयमा निवेदन बुझाउन निर्देशन दिएको छ । निर्देशन अनुसार नभएमा आउँदो निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना रकम सरकारी बाँकी सरह अशुल उपर गरिने पनि विज्ञप्तीमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com