सिएरा लियोन पहिरोमा ३०० सय बढीको मृत्यु
प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

सिएरा लियोनको राजधानी फ्रिटाउनमा भिषण बाढी तथा पहिरोमा ज्यान गुमाउनेको संख्या ३०० नाघेको अधिकारीहरुले जनाएका छन्।
अझै पनि कैयौं शवहरु भग्नावशेषमा पुरिएको हुनसक्ने आशंका गरिएको छ।
अध्याँरो भएपछि खोज तथा उद्धार अस्थायी रुपमा स्थगित गरिएको छ।
राष्ट्रपति अरनेष्ट बाइ कोरोमाले टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रिय विपद्को सामना गर्न एउटा आपतकालिन केन्द्र सञ्चालनमा ल्याइएको बताएका छन्।
क्षति
रेडक्रसले करिब ३ लाख मानिसहरुले आफ्नो घरबार गुमाएको जनाएको छ।
एउटा परोपकारी संस्था सेभ द चिल्ड्रेनकी रमातु जोल्लाह भन्छिन्, “ती पहाडी क्षेत्रमा घना बस्ती रहेका छन् र कमजोर निर्माणका कारण ती घरहरु त्यति सुरक्षित छैनन् अझै ठूलो मानवीय क्षति हुनसक्ने चिन्ता हामीलाई लागिरहेको छ।”

सिएरा लियोनको राजधानी फ्रिटाउन एउटा पहाडी शहर हो जुन समुद्रबाट पनि घेरिएको छ।
त्यहाँको जनसंख्या द्रुत गतिमा बढिरहेको छ र कयौँ मानिसहरुले पहाडका वन क्षेत्रमा पर्ने भिरालो स्थानमा अनुमति बेगर नै घरहरु बनाएका छन्।
बन फँडानी र कमजोर शहरीकरण योजनाले अहिलेको यो राष्ट्रीय विपदको अवस्था निम्त्याएको ठानिएको छ।
प्रश्न
सबैभन्दा बढी क्षति व्यहोरेको रिजेण्ट जिल्लामा पहाडको अंश नै खसेको थियो जसले आसपासका घर र त्यहाँ बसिरहेका मानिसहरुलाई पुरिदिएको छ।
अरु छिमेकी इलाकाहरुमा पनि पहिरो र बाढीको प्रभाव देखिएको छ।
खोज तथा उद्धार अझ केहि समय चल्ने देखिन्छ।
बाढी र पहिरोले निम्त्याएको ठूलो क्षतिसँगै सिएरा लियोनका नागरिकले पहिल्यै नै केहि कदमहरु चालेको भए यस्तो यस्तो दु:खदायी घटना रोक्न सकिन्थ्यो की भनेर प्रश्न गर्ने देखिन्छ।