बाल्टिमोरमा ब्लक पार्टीमा ३० जनामाथि गोली प्रहार, घाइतेमध्ये १४ जना १८ वर्ष मुनिका, २ युवतीको मृत्यु


प्रकाशित मिति : असार १७, २०८० आईतबार

दक्षिणपूर्वी बाल्टिमोरमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन्। शहरको ब्रुकलिन छिमेकमा भएको एक ब्लक पार्टीमा गोली चलेको थियो ।

बाल्टिमोरका प्रहरी अधिकारीहरूका अनुशार उनीहरुले आइतबार विहान १२ बजेर ३५ मिनेटमा गोली हानाहानको रिपोर्ट पाएका थिए । आलिया गोन्जालेस भनेर चिनिने १८ वर्षीया महिलालाई घटनास्थलमा मृत घोषित गरिएको छ भने २० वर्षीया किलिस फाग्बेमीलाई स्थानीय अस्पतालमा मृत घोषित गरिएको छ । घाइते मध्ये नौ जनालाई घटनास्थलबाट अस्पतालमा लगिएको थियो, जबकि अन्य २० जना आफै विभिन्न अस्पतालमा गएका थिए ।

अधिकारीहरू घटनास्थलमा पुग्दा उनीहरूले बन्दुकको गोली लागेका धेरै पीडितहरू भेट्टाएका थिए । आइतबार दिउँसो पत्रकार सम्मेलनमा अधिकारीहरूले ब्लक पार्टीमा भएको गोलीकाण्डमा ३० जना घाइते भएको बताएका हुन् । पीडितको उमेर १३ देखि ३२ वर्षसम्म रहेको छ भने पीडितमध्ये १४ जना १८ वर्ष मुनिका रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यहाँ कम्तीमा दुईजना बन्दुकधारी रहेको पुष्टि गरेको छ भने थप कोही थिए कि भनेर अनुसन्धान गरिरहेको छ। प्रहरीले आइतबार दिउँसोसम्म गोली प्रहार भएको निशानायुक्त हो वा होइन भन्ने थाहा नभएको जनाएको छ ।

अधिकारीहरूले घटनाको बारेमा जानकारी भएमा बाल्टिमोर प्रहरीमा फोन गरेर हत्या इकाईलाई सम्पर्क गर्न आग्रह गरेका छन्। सामुदायिक सदस्यहरूले मेट्रो क्राइम स्टपरमा अज्ञात रूपमा फोन वा अनलाइनबाट जानकारीहरु रिपोर्ट गर्न सक्नेछन् ।

बन्दुकधारीलाई नभेट्दासम्म नरोकिने प्रहरीले जनाएको छ । बाल्टिमोरका मेयर ब्रान्डन स्कटले मृतकका परिवारप्रति समवेदना र घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com