हेलिकोप्टरमार्फत राहत सामाग्री
प्रकाशित मिति : श्रावण ३०, २०७४ सोमबार

मौसममा केही सुधार आएसँगै तराईका बाढी तथा डुबान प्रभावित क्षेत्रहरुमा राहत वितरणको काम अघि बढाइएको अधिकारीहरुले जनाएका छन्।
राहत सामाग्रीसहित प्रधानमन्त्री शेरबहादुर देउबा र गृहमन्त्री जनार्दन शर्मा मध्य तथा पूर्वी तराईका बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्कने कार्यक्रम छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोका कारण ज्यान गुमाउने व्यक्तिका परिवारलाई नगद दुई लाख रुपैयाँ उपलब्ध गराउने तथा उद्धार तथा राहतमा केन्द्रित हुने निर्णय गरेको थियो।
उद्धार र राहत वितरणका झण्डै १० हजार सुरक्षाकर्मी परिचालन भएको बताइएको छ।
राहत
नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतका अनुसार मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामाग्री वितरणको काम थालिएको छ।
उनले भने, “नेपाली सेनाका झण्डै पाँच हजार फौज उद्धार तथा राहतमा खटिएका छन्, पाँचवटा हेलिकोप्टर परिचालन गरेका छौँ र विशेष राहत वितरणमा केन्द्रीत भइरहेका छौँ।”

गृह मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा ५६ सय नेपाल प्रहरी तथा १७ सय सशस्त्र प्रहरी बलका सदस्य खटिएको जनाएको छ।
सरकारले बाढी पहिरोबाट प्रभावित जिल्लाहरुमा प्रधानमन्त्रीको निरीक्षण भ्रमणपछि अल्पकालीन तथा दीर्घकालीन राहत कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ।
बाढी र पहिरो पीडितलाई खाधान्न, ड्राइफुड तथा पानी वितरण गरिने र ती राहत सामाग्री बोकेका ६ वटा निजी कम्पनीका हेलिकोप्टर बिहान १० बजे राजधानीबाट उडेको गृह मन्त्रालयले जनाएको छ।