न्युयोर्क सिटीमा ५ बर्षकी बालिकामाथि गोली प्रहार, अवस्था गम्भिर


प्रकाशित मिति : असार १६, २०८० शनिबार

एक ५ वर्षीया बालिकालाई शुक्रबार राति न्युयोर्कको ब्रोंक्समा गाडीभित्र बसिरहँदा पछाडि गोली लागेपछि अस्पताल भर्ना गरिएको छ । इस्ट २१४ औं स्ट्रीट र ह्वाइट प्लेन्स रोडमा साँझ ७ बजेपछि गोली प्रहार भएको थियो ।

प्रहरीका अनुसार गोली प्रहार हुँदा पीडित बालिका पुरानो मोडलको निसान म्याक्सिमाको पछाडि बसिरहेकी थिइन् । बालिका र उनका बुबा बिहीबार गोली हानेर मारिएका एक व्यक्तिको लागि आयोजित सार्वजनिक प्रार्थना सभामा जाँदै थिए।

त्यो भेलाको समयमा गोली चलाइएको थियो । कारको पछाडि गोलीले प्वाल पारेर बालिकालाई लागेको थियो ।

गोली प्रहारपछि बुबाले बालिकालाई समातेर बसेका थिए र उनी निकै आत्तिएका थिए । उनी ‘मेरी छोरी, मेरो बच्चा, मेरो बच्चा, गुहार गुहार’ भन्दै चिच्याएका थिए । त्यसपछि घटनास्थलमा प्रहरी आएको थियो ।

५ वर्षीया बालिकालाई मोन्टेफोर मेडिकल सेन्टरमा लगिएको छ जहाँ उनको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ। के कारणले गोली चल्यो भन्ने खुल्न सकेको छैन ।

केही शंकास्पद व्यक्तिलाई राती हिरासतमा लिइएको थियो र त्यसपछि रिहा गरिएको थियो । अहिले कोही पक्राउ परेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com