समलिंगी विवाह र विद्यार्थी ऋण मिनाहाबारे शुक्रबार अमेरिकाको सर्वोच्च अदालतका २ निर्णय


प्रकाशित मिति : असार १५, २०८० शुक्रबार

अमेरिकाको सर्वोच्च अदालतले आफ्नो वर्तमान कार्यकालको अन्तिम दिन शुक्रबार दुईवटा फैसला जारी गरेको छ। ६ जना रुढिवादी न्यायाधिसको बहुमतले गरिएका यी फैसलामा ३ जना प्रगतिशिल न्यायाधिसहरु अल्पमतमा परेका थिए । अदालतले गरेका दुई छुट्टा छुट्टै निर्णयबाट राष्ट्रपति जो बाइडेनको विद्यार्थी ऋण माफी कार्यक्रम रोकिएको छ भने सिमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषता भएका समलिंगी तथा तेश्रोलिंगीको सुरक्षामा सिमितता कायम गरेको छ ।

बाइडेनले विद्यार्थी ऋण मिनाहा सम्म पुर्‍याउने आफ्नो योजनालाई अस्वीकार गर्ने सर्वोच्चको निर्णयको आलोचना गरेका छन् । उनले उधारकर्ताहरूलाई मद्दत गर्न लड्न जारी राख्ने वाचा गरेका छन् । बाइडेन प्रशासनले १९६५ को उच्च शिक्षा ऐन अन्तरगत नयाँ मार्ग पछ्याउने र विद्यार्थीहरुलाई राहत दिने उनले बताएका छन् । तर यसका लागि केही लामो समय लाग्नेछ ।

अर्को निर्णयमा सर्वोच्चका न्यायधिशहरूले कोलोराडोका एक क्रिश्चियन वेब डिजाइनरको पक्षमा फैसला गरे, जसले धार्मिक कारणहरूले गर्दा समलिङ्गी विवाहहरू मनाउने वेबसाइटहरू बनाउन अस्वीकार गरेका थिए । यो निर्णय अभिव्यक्ति स्वतन्त्रताको आधारमा गरिएको सर्वोच्च अदालतले जनाएको छ । जसलाई उच्च अदालतमा धार्मिक रूढिवादीहरूको लागि पछिल्लो विजयका रुपमा हेरिएको छ ।

यो मुद्दाले अन्य अल्पसंख्यक समूहहरूमा दूरगामी प्रभाव पार्ने र अमेरिकामा नागरिक अधिकार संरक्षणका सन्दर्भमा धेरै मुद्दाहरूको ढोका खोल्नसक्ने विज्ञहरुको भनाई छ । न्यायाधीशहरूले संविधानको पहिलो संशोधनको स्वतन्त्र वाक सुरक्षाले वेब डिजाइनर लोरी स्मिथलाई समलिङ्गी विवाहका लागि आफ्नो सेवा विस्तार गर्न अस्वीकार गर्न अनुमति दिएको बताएका छन् ।

यो निर्णय अभिव्यक्ति स्वतन्त्रताका आधारमा निहित भएपनि यस्तो स्वतन्त्रताका लागि कुन व्यवसायहरू फिट हुन्छन् भन्ने बारे भ्रम पैदा हुने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । जसका कारण थुप्रै व्यवसायहरुले यसको प्रयोग गरेर यौनिक अल्पसंख्यकलाई सेवा दिन अस्वीकार गर्न सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com