के हो जुनटिन्थ?
प्रकाशित मिति : असार ४, २०८१ मंगलबार
President Joe Biden, joined by Vice President Kamala Harris, lawmakers and guests, signs the Juneteenth National Independence Day Act Bill on Thursday, June 17, 2021, in the East Room of the White House. (Official White House Photo by Chandler West)
जुनटिन्थ वा जुन १९ अश्वेत अमेरिकीहरूले गरेका योगदानहरू, अमेरिकामा अफ्रिकी र अफ्रिकी अमेरिकीहरूको दासत्वको इतिहासलाई जित्नको लागि तिनीहरूको लचिलोपन र प्रणालीगत नस्लवाद विरुद्ध तिनीहरूको निरन्तर लडाइँको सम्झना गर्नका लागि दिइने वार्षिक बिदा हो।
राष्ट्रपति अब्राहम लिंकनले सेप्टेम्बर २२, १८६२ मा अमेरिकी गृहयुद्धको समयमा विद्रोही राज्यहरूमा दासहरूलाई मुक्त गर्दै आफ्नो मुक्ति घोषणा जारी गरेका थिए । तर गृहयुद्धको समयमा कन्फेडेरेसीको हिस्सा रहेको टेक्सासले लिंकनको घोषणालाई बेवास्ता गरेको थियो । त्यसैकारण युनियन आर्मी मेजर जनरल गोर्डन ग्रेन्जर र २,००० संघीय सेनाले १९ जुन १८६५ मा टेक्सासको ग्याल्भेस्टन बन्दरगाहमा यात्रा गरेर टेक्सासलाई दास मुक्तिको घोषणा गर्न बाध्य बनाए ।
अमेरिकामा दासता अन्त्य भएको यो दिनको उपलक्ष्यमा संघीय बिदा दिलाउने कानुनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका हुन् । जुन १९ लाई छोटोरुपमा जुनटिन्थ भनिन्छ ।

मेजर जनरल गोर्डन ग्रेन्जरले टेक्सासका बासिन्दाहरूलाई औपचारिक रूपमा दासत्व समाप्त भएको जानकारी दिँदै आदेश जारी गरेका थिए ।
जुनटिन्थ त्यस्तो दिन हो, जुन दिन दासताको मुक्ति घोषणा गरिएको खबर दासहरु मुक्त गरिएको अन्तिम बिद्रोही राज्य टेक्सासको ग्याल्भेस्टोनमा रहेका मानिसहरुमाझ पुगेको थियो । अब्राहम लिंकनले मुक्तिको घोषणामा सन् १८६३ नै हस्ताक्षर गरेका थिए तर ग्याल्भेस्टनमा उक्त घोषणा संघीय सिपाहीहरुले सन् १८६५ को जुन १९ मा नपढ्दासम्म लागु गरिएको थिएन ।
दासको अन्त्य भएको दिनको सम्झनामा मनाइने संघीय बिदामा अमेरिकामा रहेका अश्वेत लगायत दासताको अन्त्यको पक्षमा रहेका सबैले उत्सव मनाउँछन् । तर यही अवशरमा कैयनले भने अमेरिकाको प्रणालीगत विभेदको अन्त्य आवश्यक रहेको बताएका छन् । दासता अन्त्य भएको झण्डै १६० बर्ष पुग्दा पनि अमेरिकामा प्रणालीगत विभेद कायमै रहेको छ ।
सन् २०२१ मा संघीय विदाको यो बिल सिनेटमा एकमतले पारित भएको थियो भने प्रतितिधिसभामा १४ जना सांसदहरुले बिलको विपक्षमा मतदान गरेका थिए । १९ जुन औपचारिक रुपमा संघीय बिदाको दिन हुनु अगाडि पनि कैयन राज्यहरुले जुनटिन्थ मनाउदै आएका थिए । जुनटिन्थको अवशरमा सन् १९८० मा पहिलोपटक राज्यमा बिदा दिने निर्णय गर्ने पहिलो राज्य टेक्सास हो ।
कभर तस्वीर: जुनटिन्थ राष्ट्रिय स्वतन्त्रता दिवस ऐनमा हस्ताक्षर गर्दै सन् २०२१ मा राष्ट्रपति जो बाइडेन ।





