बाढीले सयौं थुनिए, उद्धारको लागि गुहार


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

– लक्ष्मी साह

श्रावण २९, २०७४- जिल्लाको विभिन्न खोलामा आएको बाढी र भीषण बर्षाको पानीले यहाँका सयौं परिवार थुनिएका छन् । उद्धार तथा राहतको लागि उनीहरुले सामाजिक सञ्जाललगायत सरोकारवालाहरुलाई फोन मार्फत गुहार गरिरहेका छन् । प्रसौनी गाउँपालिकाको वडा ३ र ४ मा पर्ने चिलझपटीका झन्डै सय परिवार आइतवार विहानदेखि बाढीमा फसेका छन् ।

बङगरी खोलामा आइतवार विहान आएको बाढीले गाउँ जलमग्न छ । सबैको घरमा बाढी पसेर वितण्डा मचाएको छ । घरमा अचाक्ली पानी पसेकाले छिमेकीको पक्की घरको छतमा ओत लाग्नु परेको स्थानीय विक्रम राउतले बताए । झन्डै १० वटा घर बाढीले बगाएको उनले बताए । उद्धार गर्न गुहार माग्दा कतैबाट राहत नभएको उनको भनाइ छ ।

कलैया नगरपालिकको भाँवरा गाउँ डुबानमा परेकाले स्थानीयहरु विद्यालयमा शरण लिइरहेका छन् । पसाहा खोलामा आएको बाढीले उक्त गाउँमा पसेको छ । कलैया–वीरगन्ज सडकको प्रसौनीस्थित बङ्गरी खोलाको बाढी सडकको पाँच फिटमाथि बगिरहेकोले स्थानीय प्रशासनले उक्त सडकमा आउजाउ निषेध गरेको छ । खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ । बर्षौदेखि गण्डक नहरमा पानी निकासको लागि बन्दा गरिएको मेसिन स्थानीयबासिन्दाहरु आफैंले खोलेका छन् ।

जिल्लाका २० हजार भन्दा बढी घर डुबानमा परेको अनुगमन पछि फर्केका प्रहरी उपरीक्षक राजकुमार वैद्यवारले बताए । उता माछाको लागि हब यस जिल्लाको सयौ पोखरीमा पालिका माछा तितर तिर भएर किसानको करोडौं क्षति हुन पुगेको प्रधानमन्त्री माछा सुपरजोन परियोजनाका प्रमुख युगलकिशोर तिवारीले बताए । ठाउँ ठाउँमा पुर्वपश्चिम गण्डक नहर फुटेर पानीको बहाव अनियन्त्रित भएको छ ।

घर भत्केर २ जनाको मृत्यु भइसकेको यस जिल्लामा दर्जनौं पुलहरु बाढीले बगाएपछि यातायात ठप्पसँगै गाउँबीच सम्पर्क विच्छेद भएको छ । विजुलीको पोलहरु ढलेकाले विद्युत लाइन अवरुद्ध भएको छ । विद्यालयहरु डुबानमा परेकाले जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले सामाजिक सञ्जालमा सूचना जारी गरी भदौ १ गतेसम्मका लागि बाढी प्रभावित क्षेका विद्यालयमा विदा दिन निर्देशन दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com