‘आदिपुरुष’मा नेपालकी राष्ट्रिय विभूति जानकी (सीता)लाई भारतकी छोरी भनिएपछि श्रृजित विवाद
प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार
चलचित्र आदिपुरुषमा सीतालाई भारतकी छोरी भनिएपछि नेपालमा यसबारे विवाद श्रृजना भएको छ । चलचित्र बहिस्कारबारे सामाजिक सञ्जालमा आवाज उठेको छ भने उक्त शब्द नेपालमामात्र नभई भारत लगायतका देशमा हुने प्रदर्शनमा पनि सच्याउनुपर्ने मागमा समर्थन बढेको छ ।
दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द नेपालमा मात्र नभई भारतमा पनि नसच्याएसम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने महानगरपालिकाका प्रमुख वालेन्द्र साहले सामाजिक सञ्जालमा घोषणा गरेका छन् । यो सच्याउनका लागि ३ दिनको समय दिइएको छ । बालेनको घोषणामा नेपालीहरुको समर्थन देखिएको छ ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस । pic.twitter.com/4VwEhEgOki— Balen Shah (@ShahBalen) June 15, 2023
बालेनको ट्वीटर पोष्ट ६ घण्टामा २ हजारभन्दा धेरैपटक रिट्वीट गरिएको छ भने फेसबुक पोष्ट ३८ हजारभन्दा धेरैपटक शेयर गरिएको छ । फेसबुक पोष्टमा ६१ हजारभन्दा धेरै कमेन्टहरु आएकोमा प्राय सबैले बालेनको उक्त घोषणाको स्वागत गरेका छन् ।
नेपालका तत्कालीन राजा जनककी छोरा सिता मातालाई भारतमा जन्मेको भन्दै मनगढन्ते कहानी थोपरिएको फिल्म “आदिपुरुष” बहिष्कार गरौं। इतिहासलाई छेडछाड गर्न मिल्दैन, रामराज्यमा भारत भन्ने देश थिएन। pic.twitter.com/DrSK1Iwdha
— Nirmal Prasai🇳🇵 (@NirmalPrasai5) June 15, 2023
यस अगाडि चलचित्रमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ संवाद नेपालको प्रदर्शनबाट हटाउन चलचित्रको निर्माण पक्ष सहमत भएपछि नेपालमा उक्त चलचित्रको सेन्सर पास भएको थियो । चलचित्रमा आपत्तिजनक संवाद रहेको भन्दै सेन्सर बोर्डले चलचित्रलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि निर्माण पक्ष सम्बाद हटाउन सहमत भएको थियो ।
नेपालमा प्रदर्शन हुने चलचित्रमा उक्त संवाद नहुने भएतापनि भारत र अन्य देशमा हुने प्रदर्शनमा भने उक्त सम्बाद कायमै रहने भएकाले नेपालीहरुले विरोध गरेका हुन् । शुक्रबारदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो चलचित्र अमेरिकामा भने बिहिबारदेखि नै प्रदर्शन सुरु भइसकेको छ ।
जानकी (सीता) रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै रामचरितमानस की मुख्य पात्र हुन। जानकी मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन। उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सँग स्वयंवरमा शिवको धनुष भंग गरे पछि भएको रामायणमा उल्लेख छ ।
भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिॅ जनककी छोरी जानकी (सीता) नेपाल भूमिकी गरिमामयी पुत्री हुन्। आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित जानकी (सीता) नेपाल पुत्री भएकीले उनलाई नेपालमा राष्ट्रिय विभूति मानिएको छ।
प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्। उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन्।
चलचित्रका अन्य कतिपय सन्दर्भमा भारतमै पनि विवाद देखिएको छ । हनुमानले छातीमा हात राखेर अभिवादन गरेकोमा सनातनमा हात जोडेर नमस्कार गरेर झुकिनेभन्दै कतिपयले विरोध गरेका छन् । त्यस्तै कतिपयले रामलाई आदिपुरुष भनिएकोमा विरोध गरेका छन् । आदिपुरुष भनेको आदिम पुरुष वा सुरुको मानिस भएको तर राम आदिम मानिस नभई मर्यादापुरुषोत्तम रहेको भन्दै विरोध गरेका छन् । बनवासमा रहँदा खुलेर रोमान्स गरेको देखाइएको भन्दै कतिपयले भारतमै चलचित्र बहिष्कारको माग गरेका छन् ।





