टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी


प्रकाशित मिति : जेष्ठ २६, २०८० शुक्रबार

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् ।

त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताउनुभयो । उहाँका अनुसार नेपालीका लागि रु एक सय र विदेशी नागरिकका लागि रु एक हजार प्रवेश शुल्क तोकिएको छ । “विदेशी पर्यटकबाट टिकट शुल्क घटाउनुपर्ने सुझाव आएको छ, यो विषयमा नेपाल ट्रष्टको केन्द्रीय कार्यालयमा पनि जानकारी गराएका छौँ”, प्रमुख मिजारले भन्नुभयो, “टिकट दर संशोधन गर्ने कुरा भइरहेको छ, माथिबाट निर्णय भएर आउन बाँकी छ ।”

पर्यटन सम्बद्ध निकाय र संस्थाबाट पनि विदेशी पर्यटकका लागि तोकिएको शुल्कलाई केही घटाउनुपर्ने सुझाव आएको उहाँको भनाइ छ । आन्तरिक पर्यटक भने दैनिक सरदर तीन सय ५० को सङ्ख्यामा रत्न मन्दिर पुगेको तथ्याङ्क उक्त कार्यालयसँग छ । गत शनिबार मात्रै सात सय बढीले रत्न मन्दिर घुमेका थिए ।

सोमबारबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मन्दिर खुला हुने गर्छ । टिकट कक्ष भने ४ बजे नै बन्द हुन्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्रका लागि प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघण्टा रु १० हजार शुल्क तोकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्वराजपरिवारको शीतकालीन दरबारका रूपमा चिनिने रत्नमन्दिर गणतन्त्रको उदयसँगै १५ वर्षदेखि बन्द अवस्थामा थियो । पर्यटकीय गन्तव्यस्थलका विकास गर्ने ध्येयले पहिलोपटक उक्त दरबार सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिएको हो ।

नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा रत्न मन्दिर बनाउनुभएको थियो । राजसंस्थाको अन्त्यपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको उक्त दरबार विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । शाहवंशीय राजाको इतिहाससँग गाँसिएको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्दै आएको थियो । दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला गरिएको छैन ।

दरबारका कोठा, भ¥याङदेखि भित्री संरचना साँघुरा छन् । एकैपटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ । दरबारले चर्चेकोमध्ये २८ रोपनी क्षेत्र मात्र अहिले सर्वसाधारणका लागि खुला गरिएको हो । पोखरा महानगरपालिका–६ फेवा किनारको गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ । रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ मा बनेको थियो । तीन तले दरबारमा ११ कोठा छन् । भुइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत ९एडिसी० बस्ने कोठा र आराम कक्ष छ ।

दोस्रो तलामा पाँच कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्य मात्र बैठक बस्ने गर्थे । राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ । त्यो बेलाका खेल सामग्री सुरक्षित छन् । दोस्रो तलामै युवराजको शयनकक्षसहित तीन पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो । सबैभन्दा माथिल्लो तलामा राजारानीको शयनकक्ष र पूजा कोठा रहेको छ । बाहिरपट्टि आराम कक्ष र दृश्यावलोकनका लागि कौसी छ ।

हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठाहरूमा सजावट र उपहारका सामग्री राखिएको छ । राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री जतन गरिएको छ । भित्तामा पूर्वराजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रदेखि पूर्वयुवराज पारसका सन्ततिसम्मका तस्बिरहरू सजाइएको छ । नेपाली कला झल्काउने हस्तकलाका सामग्रीदेखि आकर्षक ‘पेन्टिङ’ हरू दरबारभित्र छन् । दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन् ।

काठ र ढुङ्गाबाट दरबार बनेको छ । दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स–साना कोठा छन् । सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ । अहिले रणचण्डी गणले दरबारमा सुरक्षा पहरा दिइरहेको छ । एक सय ७४ रोपनी क्षेत्रफलमा रत्न मन्दिर फैलिएको छ ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com