८ महिनामा गतबर्षभर जारी भएको भन्दा धेरै नेपालीलाई अमेरिकाको भिजिटर भिसा


प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार

चालु आर्थिक बर्ष २०२३ को ८ महिनामा झण्डै २० हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् । जुन आर्थिक बर्ष २०२२ को पूरै बर्षमा जारी गरिएको भिजिटर भिसा संख्या भन्दा पनि धेरै हो ।

गत अक्टोबरदेखि अप्रिलसम्ममात्र १७ हजार ६ सय २० जना नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको छ । जबकी गत आर्थिक बर्ष २०२२ मा १८ हजार २१० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए ।

चालु आर्थिक बर्षको पहिलो महिना गत अक्टोबरमा १६६१ जना, नोभेम्बरमा २४४६ जना, डिसेम्बरमा २३४४ जना, जनवरीमा २८८३ जना, फरबरीमा २७८७ जना, मार्चमा ३११० जना, अप्रिलमा २३८९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् ।

कोरोना महामारीका कारण आर्थिक बर्ष २०२१ मा जम्मा ७ हजार १ सय १३ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । त्यस्तै आर्थिक बर्ष २०२० मा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या ७ हजार ७ सय ३७ थियो ।

अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने ८० प्रतिशत नेपालीलाई भिसा

गत आर्थिक बर्ष २०२२ मा अमेरिकाले कुल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिटर भिसा दिएको खुलासा भएको छ । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय १४ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको हो ।

आवेदकमध्ये ४५ सय १५ जना नेपालीहरुले भने भिसा पाएनन् । कुल भिजिटर भिसा आवेदक संख्याको १९ दशमलव ८५ प्रतिशतलेमात्र भिसा नपाएका हुन् । अमेरिकाले आर्थिक बर्ष २०२१ मा पनि झण्डै ८१ प्रतिशत नेपाली आवेदकहरुलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको थियो । विगत २ बर्षदेखि अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने झण्डै ८० प्रतिशतले भिसा पाएका छन् ।

अमेरिकाले २०२१ मा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । भिजिटर भिसाका कुल ८ हजार ७ सय ७३ नेपाली आवेदकहरुमध्ये १६४५ जनालेमात्र अमेरिकाको भिसा पाएनन् ।

२०२१ मा कोरोना महामारीका कारण विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको हो ।

त्यस अगाडि आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो । यद्यपी सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो ।

आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा पाउने प्रतिशत दर बढेपनि संख्या भने घटेको छ । २०२० मा ७ हजार ७ सय ५१ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको छ ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो ।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो । सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो । सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो ।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो । सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए । कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

जुन १७ बाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने

अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ बाट भिसा गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने भएको छ । जस अनुशार भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइने भएको छ । भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, मिडिया भिसा लगायतका अधिकांश गैर आप्रवासी भिसाका लागि अहिलेसम्म भिसा शुल्क १६० डलर रहेको छ । ब्यापारी, लगानीकर्ता लगायतका लागि प्रदान गरिने ई श्रेणीको भिसा शुल्क २०५ डलरबाट बढाएर ३१५ डलर बनाइने भएको छ ।

त्यस्तै रोजगारमा आधारित कामदार र गैर आप्रवासी भिसाहरुहरुको शुल्क १९० डलर रहदै आएकोमा २०५ डलर बनाइने भएको छ । एच, एल, ओ, पी, क्यु, आर लगायतका श्रेणीका यस्ता भिसाको शुल्क बढाइने भएको हो ।

त्यस्तै २ बर्षसम्म नयाँ भिसा नलिनेगरी जे भिसा लिएकाहरुलाई छुट दिनुपरेको खण्डमा छुट आवेदनका लागि १२० डलर लिइदै आएकोका त्यसमा भने शुल्क नबढाइने भएको छ । निश्चित प्रकारका जे भिसावाहकहरु अमेरिकाबाट फर्केपछि २ बर्ष अमेरिका जान नपाउने प्रावधान रहेकोमा २ बर्षअगाडि जानुपरेमा छुटको आवेदन दिन आवश्यक हुन्छ ।

नेपालीको भिजिटर भिसा आवेदनबाट मात्र अमेरिकी दूतावासलाई गतबर्ष ४७ करोड आम्दानी

नेपालीको भिजिटर भिसा आवेदनबाटमात्र अमेरिकी दूतावासलाई गत आर्थिक बर्ष २०२२ मा झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको छ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांक अनुशार पछिल्लो विनिमयदरले हिसाव गर्दा आम्दानी झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको देखिएको हो ।

भिजिटर भिसा आवेदकको संख्यालाई हरेकको १६० डलरको दरले हिसाब गर्दा यो रकम निस्किएको हो । जुन झण्डै ३६ लाख अमेरिकी डलर हुन आउँछ । अमेरिकी दूतावास काठमाडौंले कतिपय सेवाका लागि १ डलर बराबर १३५ नेपाली रुपैया समेत लिने गरेको छ । अमेरिकी विदेश मन्त्रालयको तथ्याक हिसाब गर्दा आर्थिक बर्ष २०२२ मा झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०२१ को तुलनामा २०२२ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या दोब्बरभन्दा धेरै रहेको थियो । आर्थिक बर्ष २०२१ मा झण्डै ८ हजार ७ सय ६० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । तीमध्ये अधिकांश पहिले पनि भिसा लिएका र विना अन्तरवार्ता भिसा नविकरणका लागि आवेदन दिएकाहरु थिए ।

कोरोना महामारीका कारण अमेरिकी दूतावास काठमाडौंले नियमित सेवा संचालन गर्न नसकेका कारण पनि आर्थिक बर्ष २०२१ मा कम नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । गतबर्ष नेपालीका भिजिटर भिसाका आवेदनबाट अमेरिकी दूतावासलाई झण्डै १४ लाख अमेरिकी डलर आम्दानी भएको थियो ।

अमेरिकी दूतावासहरूले भिसा शुल्कबाट हुने आम्दानी आवेदकहरूलाई भिसा प्रशोधनलगायत कन्सुलर सेवाहरू उपलब्ध गराउने लागत कभर गर्न प्रयोग गर्छन् । यसमा कुशल र सुरक्षित भिसा सेवाहरू प्रदान गर्न आवश्यक स्टाफ, सुविधा, उपकरण, र प्रविधिको लागत समावेश छ।

भिसा शुल्कबाट संकलित रकम एक छुट्टै खातामा जम्मा गरिन्छ र दूतावास वा वाणिज्य दूतावासको सञ्चालनलाई सहयोग गर्न विशेष रूपमा प्रयोग गरिन्छ। अमेरिकी सरकारले आवधिक रूपमा यी सेवाहरू प्रदान गर्ने लागतहरू कभर गरिएको सुनिश्चित गर्न भिसा प्रशोधन सहित विभिन्न कन्सुलर सेवाहरूको लागि शुल्कको समीक्षा र समायोजन गर्दछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com