बाढीले झापाका ३ सय घर डुबानमा


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

– अर्जुन राजवंशी

श्रावण २७, २०७४ लगातारको बर्षाले झापाका विभिन्न स्थानमा तीन सयबढी घर डुबानमा परेका छन् । जिल्लामा दुई दिनयता लगातार बर्षा भइरहेको छ । कनकाई नदीमा आएको बाढीका कारण ९ परिवार विस्थापित भएका छन् । बर्षाले कनकाई नदी र निन्दा खोलामा आएको बाढीका कारण ६ सय ५० घरपरिवार डुबानको जोखिममा परेका छन् ।

नेपाल रेडक्रस सोसाइटीका अनुसार कन्काई नदीमा आएको बाढीका कारण गौरीगञ्ज गाउँपालिका २ कोरोबारीस्थित मिन्डाघुटु बस्तीका ५ परिवार विस्थापित भएका छन् । सन्थाल समुदायको २१ घरपरिवारको बसोबास रहेकोमा छमी हस्दा, सोम मर्डी, मंगल मुर्मु, मुन्सी मुर्मु र साइला मुर्मुको परिवार विस्थापित बनेको हो । कन्काई नदीकै बाढीले झापा गाउँपालिका ७ मदरगाछका चार परिवार विस्थापित बनेको जिल्ला रेडक्रसले जनाएको छ ।

यसअघि कन्काई नदीको बाढीले बिहीबार शिवसताक्षी नगरपालिका ४ मा २१ घर डुबानमा पारेको थियो । मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिकाको भैंसाबाडी र पृथ्वीनगरमा गरी दुई सय ८० घर डुबानमा पारेको छ । कन्काई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका ४ र गौरीगञ्ज गाउँपालिका १ को रंगियाथानमा शुक्रबार बाँध भत्काएको छ । बाँध भत्काएपछि उक्त क्षेत्रका ६ सय घरपरिवार डुबानको जोखिममा परेका छन् । बाँध भत्काएपछि बाढीले खेतीयोग्य जमिन कटान गरिरहेको छ । यस्तै निन्दा खोलामा आएको बाढीले मेचीनगर नगरपालिका १५ ज्यामिरगढीस्थित सेडाई बस्तीका ४५ घरपरिवार पनि डुबानको जोखिममा परेका छन् ।

जिल्लाका दमक, बिर्तामोड, भद्रपुरलगायतका शहरका अधिकांश सडक र बजार क्षेत्र जलमग्न भएका छन् । यसैबीच अविरल बर्षाका कारण कनकाई नदीमा पानीको बहाव उच्च हुँदा खतराको घण्टी बजाइएको छ । शुक्रबार बिहान कनकाई नदीमा पानीको बहाव ४ दशमलव १ पुगेपछि खतराको घण्टी बजाइएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com