चुँडियो अर्को तार


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

श्रावण २६, २०७४- भवानी भट्ट, कञ्चनपुर

संसार नै ममता हो ठाने सधैंभरि
निर्मम खेल खेलिस् दैव तैंले घरिघरि
तेरो क्रीडा भयो दैव दुश्मन हाराहारी
लैजा दुवै हाम्लाई सँगै मार्ने गरी

पत्रकार कर्ण बोहराले श्रीमती ममताको उपचारका क्रममा यो गीत लेखेका थिए । यो गीत रेकर्ड भएर सार्वजनिक नहुँदै उनको निधन भयो । श्रीमती ममता गम्भीर बिरामी भएपछि समर्पित यो गीत उनले आफ्नै लागि लेखेजस्तै भयो ।
श्रीमतीको उपचारकै क्रममा ८ महिनाअघि काठमाडौंको अस्पतालमा सुदूरपश्चिमका पत्रकार बोहराको निधन भयो । उनको मृत्युले उनकी श्रीमती ममतालाई पीडामाथि पीडा थप्यो । त्यो पीडा कहिल्यै निको भएन । मंगलबार उनको निधन भयो । दुवै मृगौला फेल भएर लामो समयदेखि उपचाररत ममताको मंगलबार भारत उत्तराखण्डको खटिमास्थित माइतीघरमा निधन भएको हो । उनको बुधबार महाकाली किनारमा अन्त्येष्टि गरिएको छ ।
पश्चिम नेपाल दैनिक र पश्चिम नेपाल एफएमका सञ्चालक बोहराको मृत्यु भएको ८ महिनापछि ममताले पनि संसार छाडिन् । ममताकै उपचारका क्रममा काठमाडौंमा रहेका बेला गत मंसिर १० मा कर्णको अचानक मृत्यु भएको थियो । सुदूर क्षेत्रमा लामो समयदेखि पत्रकारितामा सक्रिय र युवाको मृत्युले सबैलाई स्तब्ध तुल्याएको थियो । उनले श्रीमतीकै उपचारका क्रममा ममता नामक गीति एल्बम तयार पारेका थिए । उक्त एल्बम कर्णको मृत्युपछि पत्रकार महासंघले विमोचन गरेको हो ।
कर्णले सञ्चालन गरेको रेडियो पश्चिम नेपाल उनको निधन लगत्तैदेखि बन्द छ । निको भएपछि ममताले उक्त रेडियो सञ्चालन गर्ने बताएकी थिइन् । उनी नै नरहेपछि अब त्यो पनि अनिश्चित भएको छ ।

मंगलबार एकाएक ममताको निधनको खबर सुनिएपछि यस क्षेत्रका पत्रकार, उनका आफन्त स्तब्ध भएका छन् । नयाँ पुस्ताका पत्रकारका लागि अभिभावकजस्तै रहेका कर्ण र ममताको निधनपछि कैलाली र कञ्चनपुरका पत्रकारहरूले आफ्नो फेसबुक वालमा अभिभावक गुमाएजस्तै भएको अनुभूति लेखेका छन् । पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले ममताको मृत्युले आफू स्तब्ध भएको बताए । ‘कञ्चनपुरका पत्रकार मित्र स्वर्गीय कर्ण बोहराकी पत्नी ममता बोहरालाई उपचारार्थ मेदान्त अस्पतालमा लगिए पनि सम्भव भएनछ । उपचारकै क्रममा मंगलबार निधन भएको खबरले स्तब्ध भएको छु,’ उनले फेसबुकमा भनेका छन् ।
कर्णको मृत्युपछि ममताको उपचारमा आर्थिक अभाव हुन नदिन पत्रकार महांसघले ‘ममता बचाउ’ अभियान सञ्चालन गरेको थियो । देश, विदेश र महासंघका विभिन्न शाखाहरूबाट आर्थिक संकलन गरी ममतालाई हस्तान्तरण गरिएको थियो । काठमाडौंको भेनस, टिचिङ र मृगौला प्रत्यारोपण केन्द्रमा उपचारपछि उनका माइतीले मृगौला प्रत्यारोपणका लागि दिल्लीको मेदान्त अस्पतालमा भर्ना गरेका थिए । ‘क्षयरोग र अन्य शारीरिक समस्याका कारण मृगौला प्रत्यारोपण हुन सकेन,’ लामो समयदेखि कर्ण र ममतासँगै बसेर पत्रकारिता गरेका लक्ष्मण पन्तले भने, ‘पछिल्लो पटक रोगले च्याप्दै गएपछि उनलाई मेदान्तबाट घर पठाइएको हो ।’ उनका अनुसार २/३ पटक मृगौला प्रत्यारोपणको तयारी गरिए पनि क्षयरोगका कारण सफल हुन सकेन । आफ्नै उपचारका लागि कुरुवा बसेका श्रीमानको अचानक मृत्यु हुँदा ममताले सबै जिम्मेवारी सम्हाल्ने आँट गरेकी थिइन् । दुवै मृगौला फेल भएर ४ महिनादेखि अस्पतालमै भर्ना भएकी उनलाई रोग निको भएर श्रीमान्ले खोलेको एफएम चलाउने जाँगर थियो । साथै कर्णले जमिन भाडामा लिएर रोपेका बिरुवाको रेखदेख गरेर उनको नाममा ट्रस्ट खोल्ने इच्छा थियो । तर उपचारकै क्रममा पछिल्लो पटक उनले बाँच्ने आस मारेर एफएम बिक्री गर्न पहल गरिदिनसमेत आग्रह गरेको पत्रकार पन्तले बताए । बाँच्ने सम्भावना नभएको भन्दै चिकित्सकले समेत समय तोकेर घर लैजान आग्रह गरेपछि उनी निराश थिइन् ।
उनको अन्त्येष्टिका बखत पुख्र्यौली घर बझाङको बित्थडबाट कर्णका माइला दाजु जयलाल बोहरा र भतिजा सन्दीपसहित आफन्तहरू महाकाली घाट पुगेका थिए । ‘हाम्रा परिवारमा त केही वर्षयता बज्र परेको जस्तो भइरहेको छ,’ कर्णका दाजु जयलालले पारिवारिक पीडा सुनाउँदै भने, ‘पहिला जेठा दाजु बिते, भाउजू पनि बितिन्, कान्छो कर्ण बितेको ८ महिनामै बुहारी ममता पनि गइन् ।’ उनका अनुसार २२ दिनअघि मात्रै काकातर्फकी बुहारीको पनि मृत्यु भएको थियो । स्वर्गीय कर्ण दम्पतीका सन्तान छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com