परिवारका सदस्यको आप्रवासी भिसाका लागि यसरी गर्नुहोस् शीघ्र प्रकृया अनुरोध


प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार

यदि तपाईका दम्पत्ति, छोराछोरी वा परिवारका सदस्यको आप्रवासी भिसा प्रकृया नेशनल भिसा सेन्टरमा रोकिएको छ भने तपाईले शीघ्र प्रकृयाको अनुरोध समेत गर्न सक्नुहुन्छ । तर यसरी अनुरोध गर्दा तपाईको परिवारका सदस्यको भिसा श्रेणी करेन्ट भएको भने हुनुपर्छ ।

परिवारमा आधारित श्रेणीको भिसा र मंगेतर भिसाका लागि समेत शीघ्र प्रकृयाको अनुरोध गर्न सकिन्छ । त्यसका लागि तपाईले पत्र लेखेर नेशनल भिसा सेन्टरको इमेल ठेगाना [email protected] मा पठाउन आवश्यक हुन्छ ।

स्वास्थ्य समस्या, आर्थिक समस्या वा जागिर सम्बन्धित समस्याका कारण तपाईले शीघ्र प्रकृयाको अनुरोध गर्न सक्नुहुनेछ । तर त्यस्तो समस्या अमेरिका आउने व्यक्तिको सन्दर्भमा नभई परिवारका सदस्यका लागि आवेदन दिने अमेरिकी नागरिक वा ग्रिनकार्डवाहकको सन्दर्भमा हुनुपर्छ ।

स्वास्थ्य सम्बन्धि आपतकालिन अवस्था भएमा पत्रमा चिकित्सकको सम्पर्क विवरण र चिकित्सको सिफारिस समेत आवश्यक पर्छ । पत्रको विषयमा केस वा रिसिप्ट नम्बर उल्लेख गर्नुपर्छ भने साथमा आवेदकको नाम र जन्ममिति, अमेरिका आउने व्यक्तिको नाम र जन्ममिति र इन्भोइस आईडी नम्बरमध्ये एक उल्लेख गर्नुपर्छ ।

सामान्यतया मंगेतर भिसा र अमेरिकी नागरिकका दम्पत्ति वा २१ बर्ष ननाघेका छोराछोरीका भिसाका सन्दर्भमा सधै भिसा करेन्ट रहने भएकाले तुरुन्तै शीघ्र प्रकृयाको अनुरोध गर्न सकिन्छ । परिवारका अन्य श्रेणीका व्यक्तिका सन्दर्भमा भने भिसा करेन्ट हुँदासम्म पर्खनुपर्छ ।

श्रोत : अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्स

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com