यार्सा सङ्कलनका लागि साइपालका विद्यालय असारसम्म बन्द


प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार

बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय भोलिदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएका हुन् ।
उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् ।”
बन्द गरिएका विद्यालयका विद्यार्थी बेँसी झरेपछि असार १ गतेतिर मात्र खुल्ने जानकारी प्राप्त भएको छ । उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि बन्द गरे जस्तै भएका छन् ।
उत्तरी भेगमा अवस्थित दूरदराजका ती विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना भई यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन् ।”
आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् । अघिल्ला वर्षमा विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेका शिक्षकहरू बताउँछन् । यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न लेकतिर जाने गर्दछन् । ज्येष्ठ नागरिकभन्दा बालबालिकाले नै यार्सा गुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लिने गरेको साइपाल गाउँपालिकाका स्थानीयवासी दीपक बोहराले बताउनुभयो ।
बझाङको साइपाल गाउँपालिकामा यार्सा सङ्कलनकर्ताबाट रु सात लाख नौ हजार राजस्व सङ्कलन भएको छ । यही वैशाख १० गतेदेखि यार्सा सङ्कलनका लागि बन खुल्ला गरिएको थियो । सोही दिनदेखि आजसम्म सात सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा सङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । -फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com