प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई


प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार

–सिबी अधिकारी/ यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन ।

आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै सगरमाथा आरोहण शुरु हुन्छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले एक सातादेखि बिग्रिएको मौसम शुक्रबारदेखि क्रमिक रुपमा सुधार आएको छ । दुई दिनदेखि राजधानी काठमाडौँसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ । देशभरको मौसममा सुधार आएपनि आरोहणको सङ्घारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीब्र वेगको हावा चलिरहेको छ । उक्त क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधार आउन नसकेको हो ।

“सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर, सात हजार ५०० मिटरभन्दामाथि तीव्र बेगको हावा चलिरहेकाले माथि जानसक्ने अवस्था नै छैन, वैशाख २६ र २७ गतेसम्म नै यस्तो हावा चलिरहने देखिन्छ”, उहाँले भन्नुभयो ।

अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिकरुपमा सुधार हुँदैगएको छ । केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन । “सगरमाथा क्षेत्रमा केही बादल लागेको छ, अपरान्हतिर सगरमाथाको माथिल्लो भेगमा बादल बढेर हल्का वर्षा हुने देखिन्छ”, उहाँले भन्नुभयो ।

महाशाखाले हरेक दिन साँझ सगरमाथालगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ । पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ । महाशाखाको लुक्ला स्टेशनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ । महाशाखाले सगरमाथा, अन्नपूर्ण क्षेत्रलगायतमा सरसफाई अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद लामिछानेले जानकारी दिनुभयो ।

मौसम अनुकूल भइदिएको भए यही वैशाख २१ गते बिहीबार सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना रद्द भयो ।

झण्डै दुई सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।

इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले मौसमले साथ दिएमा वैशाख २९ गते सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु हुने विश्वास व्यक्त गर्नुभयो । “सगरमाथा क्षेत्रको मौसम अझै पूर्णरुपमा सुधार आएको छैन, शुक्रबारको तुलनामाभन्दा आज मौसम राम्रो छ, आशा छ, वैशाख २९ सम्म चुचुरोसममको बाटो खुलाउने योजना साकार हुनेछ”, उहाँले भन्नुभयो ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो ।

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतिक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतिक्षारत छन्

केही आरोहीले आधार शिविरबाट विभिन्न शिविरतिर सामान ओसारिरहेका छन् । आरोहणका लागि सिजनमा विभिन्न कम्पनीले छुट्टाछुट्टै निकायबाट मौसम रिपोर्ट लिन्छन् । ‘वीन्डी एप’, ‘निम्सदाई स्टोर एप’ लगायतबाट मौसम रिपोर्ट लिइने गरिएको छ । विभिन्न मुलुकबाट आएका आरोहीले सम्बन्धित मुलुकबाट मौसमी विवरण लिएर आरोहणमा निस्कन्छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सगरमाथा क्षेत्रमा मौसम क्रमिक रुपमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा क्षेत्रमो मौसम सुधार भइरहेको छ, म आफू पनि आधार शिविर पुगेर आजै फर्किदैँछु । आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा आराम गरिरहेका छन् ।”

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमा ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।

खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, एसपिसिसी र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com