युएईमा छुट्टै पहिचान बनाएकी नेपाली सुन्दरी चाँदनी


प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार

मध्यपूर्वी देशहरू नेपालमा खासगरी नेपाली कामदारहरू काम गर्न जाने गन्तव्यका रूपमा चिनिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) को पहिचान पनि नेपालमा लगभग त्यही नै हो भन्दा हुन्छ । यो देश पनि नेपाली श्रमिकको गन्तव्यस्थलका रूपमा बढी चिनिन्छ ।

हुन पनि प्रायः नेपालीहरू यी देशमा कामकै सिलसिलामा त्यहाँ पुग्ने गरेका छन् । खाडी मुलुक भएकाले कडा नियमसँगै तडकभडकबिनाको जीवनशैली भन्ने पहिचान त छँदैछ । त्यसैले पनि यी देशमा मोडलिङको काम या व्यवसाय के होला भन्ने प्रश्न उब्जिनु स्वाभाविकै हो ।

तर कामकै सिलसिलामा युएई पुगेर पनि आफ्नो अर्कै पहिचान बनाएको नेपाली नाम हो, चाँदनी । कामका लागि त्यहाँ पुगेर पनि आफ्नो रुचिअनुसारकै काम गर्न र त्यसलाई व्यवसायमा ल्याउन उहाँ सफल हुनुभएको छ । बाल्यकालदेखि नै चलचित्रकी सौखिन चाँदनी पाठक दुवईकी यस्तै एक व्यावसायिक मोडल हुनुहुन्छ । अहिले उहाँले आफ्नो पहिचान नेपाली गन्तव्य मुलुककी एक सफल मोडलका रूपमा स्थापित गरिसक्नुभएको छ ।

सन् २००९ मा आयोजना भएको ‘मिस नेपाल’ मा सहभागी भएपछि उहाँको मोडलिङको यात्रा सुरु भएको हो । अन्तिम पन्ध्रसम्मको यात्रा तय गरेपछि पाठक बाहिरिनुभयो । त्यसपछि उहाँले म्युजिक भिडियोमा अभिनय, नृत्य निर्देशनलाई निरन्तरता दिनुभयो । त्यसरी सुरु भएको उहाँको सोख अहिले व्यवसायमा परिणत भएको छ । अहिले युएईकी एक सफल मोडलका रूपमा उहाँ यहाँका नेपालीमाझ परिचित हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मैले अभिनयसँगै नृत्य निर्देशनलाई पनि अगाडि बढाएँ । चार वर्षसम मोडलिङसँगै जोडिएको विधामा सक्रिय रहँदा नै कामकै सिलसिलामा दुबई पुगेकी हुँ”, मोडल पाठकले भन्नुभयो, “एक वर्षका लागि तय भएको गन्तव्य अहिले कर्मथलो बनेको छ । आफ्नै व्यापार छ । मोडलिङ पनि गरिरहेकी छु ।” दुबई पुगेर उहाँले सातको हाराहारीमा भिडियोमा काम गरिसक्नुभएको छ । प्रायः नेपाली समाजले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उहाँको सहभागिता हुने गर्दछ । यहाँको स्थानीय भाषामा बन्ने भिडियोमा अभिनय गर्ने तयारीसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

“म दुबई पुगेपछि आफ्नै काममा केन्द्रित थिएँ तर आफ्नो इच्छालाई धेरै समय दबाउन सकिन । मेरो तस्बिर देखेर नै मलाई स्थानीय मोडलिङ एजेन्सीले अफर गर्नुभएको हो”, मोडल पाठकले भन्नुभयो । -याम्प शोका लागि खिचाएको तस्बिरले केही कार्यक्रममा सहभागी हुने मौका प्राप्त भएपछि उहाँ नेपाली समाजको प्रतिनिधिसमेत बन्नुभयो ।

बाहिर चर्चा हुने गरेजस्तो अप्ठ्यारो र असहज अवस्था दुबईमा नभए पनि युएईका अन्य सहरमा भने कानुन कडा रहेको उहाँले बताउनुभयो । भूगोलको प्रभाव नगरी निरन्तर सक्रिय मोडल पाठकले नेपालभन्दा युएईमा अवसर बढी भएको बताउनुभयो । मोडल पाठकले भन्नुभयो, “आफ्नो काम र मोडलिङलाई सँगै अगाडि बढाइरहेकी छु । हाम्रो मेहनत र प्रयासले नै सफलता दिलाउँछ भन्ने उदाहरण म आफैँ हुँ । मैले दुबईमा गरिरहेको कामले अन्यलाई समेत प्रोत्साहन मिलेको छ । हामीमा प्रतिभा छ भने हाम्रो लागि मनग्य अवसर छ ।”

म्युजिक भिडियो निर्देशनको तयारीमा रहनुभएकी मोडल पाठकलाई चलचित्रमा अभिनय गर्ने रहर छ । यद्यपि त्यसका लागि उहाँ सिकाइको लागि समेत तयार हुनुहुन्छ । बाल्यकालमा अभिनेता राजेश हमाल, अभिनेत्रीद्वय करिष्मा मानन्धर र जल शाहको अभिनयबाट प्रभावित मोडल पाठकले अवसर पाए सदुपयोग गर्ने योजना सुनाउनुभयो ।

यतिखेर भने उहाँ इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतियोगीसँग मोडलिङमै साक्षात्कार गर्न काठमाडौँ आउनुभएको हो । सङ्घर्षको समयमा साझा मञ्च नहुँदा भोग्ने परिस्थितिसँग अभ्यस्त भएकाले पनि विश्वभर रहेका नेपालीलाई एउटै शोमा देख्दा खुसी लागेको मोडल पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस किसिमको कार्यक्रमले विदेशमै हुर्किएका पुस्तालाई नेपाली संस्कृतिसँग सामीप्यता बढाउँछ । यसको प्रतिस्पर्धा नेपालमै हुनु झनै राम्रो हो ।” विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायन र नृत्यका प्रतियोगीले यतिखेर काठमाडौँमा आफ्नो प्रस्तुति दिइरहेका छन् ।

नेपाल टेलिभिजनमा बुधबार र बिहीबार राति ‘मेरो भ्वाइस युनिभर्स’ र नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार ‘मेरो डान्स युनिभर्स’ को प्रसारण यसै साताबाट सुरु भएको छ । सो प्रतियोगिताका विजेतालाई नेपालमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिको पुरस्कारको व्यवस्था छ । यी दुवै शोमा प्रथम हुनेले रु एक करोड, द्वितीयले रु ३० लाख र तृतीयले रु २० लाख प्राप्त गर्नेछन् ।- भेषराज कार्की

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com