एसइई दिएर फर्कदै गरेका विद्यार्थी चढेको जीप दुर्घटना, १ जनाको मृत्यु,३ घाइते


प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो । उपचारका लागि धनगढी ल्याउने क्रममा ठगुन्नाको बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा चुरे गाउँपालिकाकै प्रकाश धामी, हरिष धामीसहित तीन विद्यार्थीसमेत घाइते भएका छन् । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । झण्डै ४५ किलोमिटरको दूरीमा रहेको अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एसइई परीक्षा दिएर घरतर्फ जाँदै गरेका विद्यार्थी सवार जीप दुर्घटनामा परेको बताइएको छ । मृतक र घाइते चुरे गाउँपालिकाको मलकटेश्वर माविमा अध्ययनरत विद्यार्थी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com